अक्टोबरबाट बिक्री सुरु हुँदै ‘ओमोडा-३’

काठमाडौं । चेरी ग्रुपले आफ्नो ओमोडा/जेको ब्राण्डको डिलर कन्फ्रेन्समा ‘ओमोडा-३’ एसयूभी देखाएको छ । कम्पनीले देखाएको नयाँ क्रसओभर एसयूभी युवा उपभोक्तालाई ध्यानमा राखेर तयार पारेको हो ।

ओमोडा-३ कम्पनीको ग्लोवल मोडल हुनेछ । विशेषगरी किया ईभी-३ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउने नयाँ क्रसओभर एसयूभीको लम्बाइ ४४२० एमएम रहनेछ । जुन अहिले बजारमा रहेको ओमोडा ई-५ भन्दा केही लामो हो ।

चेरीले ओमोडा-जेको ब्राण्डलाई निकै प्राथमिकतामा राखेर उत्पादन र अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण सुरु गरेको छ । कम्पनीले आफ्नो डिलरहरुसँग सन् २०२६ को सुरुवातसँगै नयाँ ओमोडा-३ बिक्रीको लागि तयार रहन आग्रह गरेको छ ।

कम्पनीले ओमोडा-३ को विषयमा खासै जानकारी दिएको छैन । तर, उसले यसको डिजाइन ल्याङ्गेवज, डिजिटल ग्राफिक्ससहितको ड्यासबोर्ड र स्टारसीप नोइज, ठूलो स्कृन लगायतका कुरा सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा एसपीजी अटोमोवाइलले बिक्री गर्दै आएको ओमोडा/जेको ब्राण्डका कार निकै सफल हुँदै गएका छन् । नेपालमा बिक्री सुरु गरेको पहिलो वर्ष नै ओमोडा ई-५ र जेको जे-६ गरेर झण्डै ९ सय युनिट बिक्री गरेको थियो ।

कम्पनीले चाँडै थप मोडलहरु बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार चाँडै जेको भी-२३ र जे-५ नेपाली बजारमा उपलब्ध हुनेछ ।


Back_to_top