काठमाडौं । भारतमा फैलिएको कोरोनाको दोस्रो कहरसँगै विभिन्न ब्राण्डले गाडी तथा मोटरसाइकल उत्पादन बन्द गरेका छन् । केहि कम्पनीले भने उत्पादन कटौती गरेको उल्लेख गरेका छन् ।
कोभिड १९ को पहिलो लहरमा कमी आएसँगै बढ्दो बजार माग अनुसार गाडी उत्पादन गर्न नसकेका भारतीय कम्पनीहरुलाई दोस्रो लहरले थप संकटतर्फ धकेलेको हाे ।
भारतमा सबैभन्दा धेरै गाडी उत्पादन गर्ने मारुती सुजुकीले उत्पादन रोकेको छ । साथै, जापानी मोटर उत्पादक कम्पनी टोयोटा र चिनियाँ कम्पनी एमजीले पनि उत्पादन रोकेको हाे ।
कोरियन कार निर्माता हुन्डाई र कियाले भने राम्रै संख्यामा गाडी उत्पादन गरिरहेको जनाएको छ । निसान, टाटा र रेनोको उत्पादनमा पनि कटौती भएको जनाइएको छ ।
कार मात्रै होइन मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु पनि अहिले बन्द अवस्थामा रहेका छन् । होन्डा र हिरोले आफ्ना केहि प्लान्ट पूर्णरुपमा बन्द गरेका छन् भने केहि प्लान्ट आंशिक संचालन गरेका छन् । टीभीएस, यामाहा, बजाजले पनि आफ्नो पूर्ण क्षमतामा प्लान्ट संचालन गर्न नसकिएको जनाएका छन् ।
भारतको धेरै अटोमोवाइल कम्पनीहरु संचालनमा रहेको मुम्वाई, दिल्ली, गुजरात, कर्नाटक, राजस्थान, मध्ये प्रदेश जस्ता राज्य कोरोनाको ठूलो चपेटामा आएकाले उत्पादन कटौती र बन्द गर्नु पर्ने अवस्था सृजना भएको हो ।
भारतमा बढ्दो कोरोना संक्रमणको कारण यसरी बन्द भएका उद्योग अझै लामो समय बन्द हुन सक्ने भारतीय अटोमोवाइल उत्पादकहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानुफ्याक्चर्सले जनाएको छ ।
नेपालमा पनि असर पर्ने
भारतीय उत्पादनको बर्चश्व रहेको नेपालमा पनि भारतमा भएको प्लान्ट बन्दको असर पर्ने देखिन्छ । ९७ प्रतिशत सवारी साधन भारतबाट आयात गरेर नेपालमा विक्री वितरण हुँदै आएको छ । यस्तोमा निषेधाज्ञा सकिएपछि नेपालमा पनि सवारी साधनको माग अनुसार उपलब्ध हुने कुरामा शंका उब्जिएको हाे ।

