एक महिना भित्र मुग्लीनको आर्क ब्रिजमा गाडी गुड्ने

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवन र तनहुँ जोड्ने मुग्लीनमा निर्माणाधीन आर्क ब्रिज असार दोस्रो साताबाट सञ्चालनमा आउने भएको छ । नेपालकै दोस्रो नमुना आर्क ब्रिजको रुपमा बन्दै गरेको सो पुलमा असारको दोस्रो साताबाट गाडी गुडाउने योजनाका साथ काम भइरहेको हो । 

पुल योजना क्षेत्र नम्बर २ का योजना प्रमुख अंगलाल रोकायाका अनुसार यही असारको दोस्रो सातामा पुलमा गाडी गुडाइने छ । उनले पुलको सबै काम भइसकेको तर, तनहुँ पट्टि एप्रोचको काम बाँकी रहेको बताए । 

‘सबै काम सकिसक्यो, तनहुँपट्टिको एप्रोच २ मिटर होचो भएकोले त्यही काम भइरहेको छ, त्यो पुरा भएपछि पेन्ट सकेर लगतै गाडी गुडाउने छाैँ,’ रोकायाले मेरोअटोसँग भने । 

पुल निर्माणका लागि विश्व बैंकको १२ करोड रुपैयाँ लगानी गरेको छ । मुग्लीन आर्क ब्रीज निर्माणमा लागेको खर्च मध्य १ करोड रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको रोकायाले बताए । सो पुल १ सय ६० मिटर लम्बाई र ११ मिटर चौडाईको बनेको छ । 

२०७१ सालबाट निर्माण सुरु गरिएको सो पुल २०७५ साल फागुनमा पुरा गरि सञ्चालनमा ल्याउने गरि ठेक्का लगाइएको थियो । तर पुल निर्माण सम्पन्न गर्न ठेकेदारले थप समय मागेकाले दुई महिना समय थपिएको थियो । 

पुरानो पुल जीर्ण भएपछि मुग्लिन नयाँ पुल निर्माण गरिएको हो । 


Back_to_top