भारतमा कारको विक्री निरन्तर ओरालो लाग्दै गएपछि यसमा लाग्दै आएको जीएसटी (गुडस् एन्ड सर्भिस ट्याक्स) घटाउन माग गरिएको छ । भारतीय सवारी उत्पादनहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (एसआइएएम) ले सरकार समक्ष यस्तो प्रस्ताव राखेको हो ।
एसआइएएमले कारमा लाग्दै आएको जीएसटी २८ प्रतिशतबाट १८ प्रतिशतमा झार्न माग गरेका हुन् । यसले सवारी उत्पादन लागत कम हुने र उपभोक्ता सवारी खरिदमा आकर्षित हुने विश्वास एसआएएएमको छ ।
जीएसटीका कारण प्यासेन्जर कार बजारमा परेको प्रभावका बारेमा सरकारलाई प्रिजेन्टेसन बनाएर बुझाइएको एसआइएएमका प्रमुख तथा महिन्द्रा अटोमोटिभ सेक्टरका समेत अध्यक्ष रहेका राजन वाढेराले बताए ।
प्यासेन्जर कारमा लगाइएको अनिवार्य सुरक्षा विशेषता, बीमा शुल्कमा परिएको वृद्धिलगायतका कारण प्यासेन्जर सवारीको बजार घट्दो क्रममा रहेको सवारी उत्पादकहरुको भनाई छ ।
भारतको म्यानुफ्याक्चरिङ जीडीपीमा अटो उद्योगको हिस्सा ४९ प्रतिशत रहेको छ । अटो क्षेत्रले वार्षिक हजारौं नयाँ रोजगारी सृजना गरिरहेको छ । यस्तो अवस्थाको उद्योगलाई उच्च दरको जीएसटीले निक्कै प्रभावित पारेको सवारी उत्पादकहरुले बताएका छन् ।
पछिल्लो पाँच वर्षमा हरेक वर्ष प्यासेन्जर सवारी उद्योगको वृद्धिदर घटिनै रहेको महिन्द्राका प्रवन्ध निर्देशक पवन गोयन्काले बताए । भारतको अर्थतन्त्रमा अटो उद्योगले ठूलो योगदान पुर्याएकाले सरकारले जीएसटी घटाउने विश्वास आफूले लिएको गोयन्काको भनाई छ । जीएसटी कटौटीसँगै सरकारले अन्य धेरै काम गर्ने उद्योगीहरुले बताएका छन् ।

