काठमाडौं । कोरियाली प्रिमियम गाडी उत्पादक कम्पनी स्याङयोङले नेपाली बजारमा नयाँ डबल क्याब पिकअप म्युसो ग्रान्ड ल्याउने भएको छ । नेपालको लागि स्याङयोङको आधिकारिक बितरक आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले उक्त गाडी नाडा अटो शो २०१९ मा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले दुई लाख रुपैयाँ लिएर यसको प्रि–बुकिङ समेत खुलाइसकेको छ । कम्पनीले बुकिङ खुलाएको एक सातामा १० युनिट बुकिङ भएको जानकारी दिएको छ । यसको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका बजार व्यवस्थापक सफल थापाले यो एसयूभीमा करिब २५ हजार बराबरको एशेसोरिज निःशुल्क उपलब्ध गराउने जानकारी दिए । नाडा अटो शोमा सार्वजनिक भए लगत्तै पिकअप ग्राहकलाई उपलब्ध गराउने गरि तयारी भइरहेको उनले जानकारी दिए ।
नयाँ पिकअपमा कम्पनीले पाँच वर्षको फ्रि सर्भिसिङ सुविधा प्रदान गर्ने भएको छ भने ५ वर्षकै वारेन्टी दिनेछ । नयाँ म्युसो एसयूभीको खरिदमा १ वर्षको रोड ट्याक्स समेत कम्पनीले नै तिरिदिने छ ।
‘५० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने यो कारमा १२ प्रतिशत व्याजदरमा फाइनान्स सुविधा मिलाइएको थापाले बताए । कम्पनीले एनआइसी एसिया, एभरेष्ट बैंक र एनएमबी बैंकसँगको सहकार्यमा फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ ।
म्युसो फो एक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरि तीन भेरियन्टमा आउने छ । यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटो सर्पोट गर्ने विशेषता उपलब्ध रहेको छ ।
यसमा अटोमेटिक हेडल्याम्प, एडजस्टेबल लेभलिङ, अटो डिमी रियर भ्यु मिरर, डबल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्पीड सेन्सिङ पावर स्टेयरिङ र सनरुफको विशेषता रहेको कम्पनीले जनाएको छ ।

