काठमाडौं । बैंक तथा वित्तिय संस्थामा केही तरलता सहज हुन थालेसँगै विभिन्न गाडी विक्रेता कम्पनी र नबिल बैंक बीच सम्झौंता हुन थालेको छ । नेपालमा सर्वाधिक सफल कार ब्राण्ड हुन्डाईका इलेक्ट्रीक कार कोना र आयोनीक ५ किन्न चाहने ग्राहकलाई नबिल बैंकले कर्जा उपलब्ध गराउने भएको हो ।
दुई संस्था बीच भएको सम्झौंता अनुसार नबिल बैंकले सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने छ । उक्त सम्झौंतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका फाइनान्स डिभिजनका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार हुन्डाईको विद्युतीय सवारीसाधन (ईभी) किन्न नबिल बैंकले सहुलियत ब्याजदरमा व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न बैंकले ऋण उपलब्ध गराउने भएको हो ।

यस्तै, अन्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ ।
हुन्डाईका विद्युतीय तथा कम्बस्चन कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन् । सबै काजगात पूरा गर्ने ग्राहकले ३ दिनमा ऋण पाउने जनाइएको छ । कर्जा अवधि ७ वर्षको रहने छ । बैंकका अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।


