काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्झाउमा सिधा उडान सुरू गरेको छ।
निगमले शनिबारदेखि काठमाडौं-ग्वान्झाउ-काठमाडौं नियमित उडान थालेको हो । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाउ उडेको विमान आइतबार ग्वान्जाउबाट १०७ यात्रु लिएर काठमाडौं आएको हो ।
निगमले पहिलोपटक काठमाडौं-ग्वान्झाउ-काठमाडौं रुटमा सिधा उडान सेवा सुरू गरेको हो ।
निगमले ग्वान्झाउ असोज ९ गतेदेखि उडान गर्ने भने पनि प्राविधिक कारण बस रोकिएको थियो । अब पूर्व निर्धारित तालिका अनुसार नै नियमित उडान हुने एयरलाइन्सले जनाएको छ ।
निगमले यस रुटमा सातामा ३ दिन नियमित उडान गर्ने भएको हो । निगमले पहिलो उडान असोज ९ गते र दोस्रो असोज १२ गते गर्ने तय भएको छ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वान्झाउ सिधा उडान हुनेछ।
निगमले काठमाडौंबाट ग्वान्झाउसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, दुईतर्फी भाडादर ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ।
काठमाडौं-ग्वान्झाउ गन्तव्यमा चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ। नेपालबाट भने हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएकोछ ।
नेपाली एयरलाइन्सको ग्वान्झाउ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलुरू, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

