नाडाको विवाद : गोल्छा भन्छन्, ‘एजीएम र कार्यसमितिको निर्णय माग्दा पनि पाइँन’

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको विवाद थामिने नामोनिसान देखिएको छैन । संस्थाको ४७ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा करण चौधरी सर्वसहमतिले अध्यक्ष भएसँगै संस्थामा भाँडभैलो सुरू भएको हो ।

सुरूमै अध्यक्षले सहमति पालना नगरेको आरोप आकाश गोल्छा पक्ष सदस्यहरूको छ । नाडामा महँगो चुनावमा पहिलो पटक ध्रुव थापासँग पराजित करण चौधरी दोस्रो पटक गोला प्रथाबाट अध्यक्ष बनेको आकाश गोल्छाले दाबी गरे ।

बिहीबार (हिजो) नाडा कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘हामीले गोला तानेर नै अध्यक्ष निर्वाचित गरेका हौं । त्यसपछि अर्को कार्यकाल वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरी साधारण सभाबाट विधान संशोधन भयो । तर, अध्यक्षले कुनै पनि हालतमा विधान संशोधन हुन नदिनेर आफू मनलाग्दी तरिकाले पेलेरै संस्था चलाउने नियतका साथ अगाडि बढेको देखियो । यतिसम्म कि अहिले आएर साधारण सभा र कार्यसमितिको मिटिङको निर्णय माग्दा समेत पाइएन ।’

आफूहरूले लिखित रूपमा नाडामा माइन्यु उपलब्ध गराउन निवेदन नै दिए पनि अध्यक्षले महिनौसम्म वास्ता नगरेको कार्यसमिति सदस्य सुनिल रिजालले बताए ।

‘यहाँ प्रालि जसरी संस्था चलाउन पाउनु पर्छ भनेर साथीहरू लाग्नुभएको छ । मनलाग्दी तरिकाले काम गर्ने छुट अध्यक्ष र महासचिवलाई कसले दियो । भोलि उहाँहरू नै अर्को संस्थामा जानुहुन्छ होला । तर, म त यसमै रहने हो । त्यसैले यसलाई बचाउने जिम्मेवारी लिनुपर्छ भनेर अगाडि आएको हुँ । त्यसको लागि हामीले गरेको सम्झौता अक्षरश पालना हुनुपर्छ’, पूर्व उपाध्यक्ष तथा कार्यसमिति सदस्य रिजालले भने ।

सुरूदेखि विवाद

नयाँ कार्यसमिति बनेसँगै मनोनित सदस्यमा विवाद सुरू भएको हो । सुरूमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षले क्रमशः ३ र २ सदस्य मनोनित गर्ने साझेदारी भएको थियो । त्यसलाई तोड्दै अध्यक्षले मनलाग्दी गरेको गोल्छा समूहको दाबी छ ।

त्यसपछि समितिहरू निर्माण गर्ने विषयमा पनि विवाद भएको थियो । अध्यक्ष र महासचिवले पेलेरै सबै समिति बनाएको गोल्छाले दाबी गरे । त्यसपछि विभिन्न बाहानामा वरिष्ठ हटाउने खेलमा दुवै लागेको उनको दाबी थियो ।

‘विस्तारै समय बिताए, पछि सीडीओ अफिसले संशोधित विधान स्वीकृत नगरेको भनियो । स्वीकृत नभएको भए, अस्वीकृत लेखेर त दिएको होला नि । सबै कुरा सीडीओमा लान आवश्यक नै छैन’, वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

नाडाको ४८ औं साधारणसभामा मञ्चमा वरिष्ठ उपाध्यक्षको हैसियतमा रहेका गोल्छाको नाम केही दिनअघि नाडाको आधिकारिक वेबसाइटबाटै हटाइएको थियो ।

अब के गर्छन् गोल्छा समूह ?

तत्कालै आफ्ना माग पूरा नभए नाडा अफिसमा ताला लगाउने सदस्य सुनिल रिजालले बताए । आफूहरूले खराब व्यक्तिहरूको मिचाइ धेरै सहेको बताउँदै रिजाल भन्छन्, ‘नाडा अफिसमा ताला लगाउने, विशेष साधारण सभा माग गर्नेदेखि पर्दा अध्यक्षलाई कालोमोसो दल्नेसम्मका कार्यक्रम चलाउने छौं ।’

जे होस् ५० वर्ष पुरानो संस्थामा चलेको टकरावले अन्ततोगत्वा व्यवसायीलाई नै क्षति पुग्ने छ । यसमा दुवै पक्षले हेक्का राख्नसके मात्रै संस्था बच्नेछ ।


Back_to_top