काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो मेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरू भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ट म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले आयोजना गरेको यो मोबिलिटी एक्स्पो साउन २५ गतेसम्म संचालन हुनेछ ।
एक्स्पोको पहिलो दिनमै आज २ दर्जन बढी नयाँ मोडलका सवारी साधन लन्च भएका छन् । एक्स्पोमा ग्राहक तान्न सवारी बिक्रेताहरू चर्को ‘प्राइस वार’मा उत्रिएका छन् । उनीहरूले आज मात्रै लन्च गरेका नयाँ तथा पुराना स्टक गाडीमा बम्पर छुट घोषणा गरेका छन् । यसले बिक्रेता तथा क्रेता दुवैलाई फाइदा पुग्ने देखिएको छ ।
कुनमा कस्तो छ छुट अफर ?
मोबिलिटी एक्स्पोमा निसान लिफ इलेक्ट्रीक एसयूभीमा सबैभन्दा धेरै २० लाख रुपैयाँ छुट घोषणा गरिएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले स्टक गाडी क्लियरेन्सका लागि लिफमा एकैपटक २० लाख रुपैयाँ छुट घोषणा गरेको हो । निसानले दिएको छुट रकम २० लाखले अर्को नयाँ मिनी कार किन्न समेत पुग्छ । 
कम्पनीले यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै आउने भएको हो ।
निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
त्यस्तै, कम्पनीले जीकर एक्समा पनि १५ लाख रुपैयाँ छुट दिएको छ । कम्पनीले सुरूमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरू गरेको जीकर एक्स नाइमामा ६९ लाख ९९ हजार रुपैयाँमै दिने भएको हो । यसअघि पनि एकै पटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरि ५ लाख रुपैयाँले मूल्य घटाएको हो ।

जिकर एक्स निकै पावरफुल २०० किलोवाटको इलेक्ट्रीक मोटर र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध मोडल हो । डब्लूएलटीपीले ४४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । डिसी चार्जर भने १५० किलोवाटसम्म सपोर्ट गर्छ ।
त्यस्तै, लीपमोटर बी १० पनि १० लाख रुपैयाँ छुट दिइएको छ । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी(१० क्रसओभर एसयूभीलाई दुई भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीले यसअघि यसको मूल्य ६० लाख रुपैयाँ तोकेकोमा नाइमा अफर अन्तर्गत ४९ लाख ९९ रूपैयाँमै उपलब्ध गराउने भएको हो ।

बी १० मा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले २४० न्यूटन मिटर टर्क प्रदान गर्छ । कम्पनीले बी–१० एसयूभीमा ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ ।
त्यसैगरी, म्याक्ससको मिफा ७ एमपीभीमा १० लाख रुपैयाँ नगद छुट दिइएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बुकिङ लिन सुरू गरेको हो । एक्स्पोभरी बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । सो अनुसार ग्राहकले १ करोड १५ लाख रुपैयाँमै मिफा ७ पाउने छन् ।

१८० किलोवाटको मोटर रहेको मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ६३५ किलोमिटर रेन्ज दिने डब्लूटीपीले प्रमाणित गरेको छ ।
त्यस्तै, कम्पनीले कम्पनीले केही समय अघि सार्वजनिक गरेको म्याक्सस ई टेरन ९ मा पनि ५ लाख रुपैयाँ छुट दिएको छ । यसको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, हुन्डाईका गाडीहरूमा ८ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित सबै मोडलका गाडीमा ८ लाख रुपैयाँसम्म छुट दिएको हो । साथै, १ वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका अवला हुन्डाई गाडीमा ३ तीन वर्षको वारेन्टी पनि पाउने छन् ।

यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएके छ । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनोट हुनेछन् ।हाल नेपालमा हुन्डाईका ग्राण्ड आइ १० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक ५ मोडल उपलब्ध छन् ।
त्यस्तै, चीनमा मिनी रेन्ज रोभरको नामले चर्चा कमाएको जेको जे फाइभमा ४ लाख रुपैयाँ छुट दिइएको छ । ओमोडा÷जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइलले एक्स्पोमा पद्यदर्शनीम राखिएको जेको जे फाइभमा ४ लाख रुपैयाँ छुट दिएर बुकिङ लिन सुरू गरेको हो ।

कम्पनीले जे-फाइभ एसयूभीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा ४ लाख रुपैयाँ नगद छुट दिएर ५६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको हो ।
जेको जे-फाइभ १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटरमा उपलब्ध छ । जेको जे(फाइभमा ५८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिनेछ । यसको ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।
त्यस्तै, फरथिङ फ्राइडे इलेक्ट्रीक एसयूभीमा ८ लाख रुपैयाँ छुट दिइएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले यसअघि फरथिङ फ्राइडेको लग्जरी भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकेकाे थियाे । अहिले ६ लाख रुपैयाँ छुट दिई ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो । साथै, ग्राहकले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क वारेन्टी दिएको छ ।

फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले अधिकतम १७४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्रीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।

त्यस्तै, बीवाइडीले मोबिलिटी एक्सपोमा एटो वान बुकिङ गर्ने ग्राहकलाई विशेष अफर दिएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नगद छुट, निःशुल्क १ वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध गराएको छ ।
अन्य बिक्रेताहरूले पनि नगद तथा अन्य छुट दिएका छन् ।

