क्षतिग्रस्त पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्याुफ्याक्चरिङ एशोसिएसन (नाइमा)ले रसुवामा आएको बाढीका कारण क्षति पुगेका पूर्वाधर निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ ।

नाइमाले एक विज्ञप्ति जारी गर्दै रसुवामा परेको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गरेको हो ।

नाइमाले बाढीले जनजीवनमा पुर्याएको अपुरणीय क्षति र पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन घडीमा उनीहरुलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गरेको छ ।

बाढीले मानवीय क्षति मात्र नभई देशको आर्थिक् प्रणालीमै गम्भीर असर पुर्याएको नाइमाको भनाइ छ ।

नेपाल भित्रिने सवारी साधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्किँदा आपूर्तिमा ठूलो अवरोध भएको नाइमाले बताएको छ । चाडपर्व नजिकिँदै गर्दा प्रमुख नाका बन्द हुँदा स्थिति गम्भीर बनेको नाइमाको भनाइ छ ।


Back_to_top