काठमाडौं । आइएम मोटर्सको प्रिमियम एसयूभी ‘आइएम-सिक्स’ नेपालमा १० युनिट आयात भइसकेको छ । नेपाली बजारमा पारामाउन्ट मोटर्सले बिक्री वितरण गर्ने नयाँ एसयूभी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’बाट बिक्री सुरू हुने अनुमान गरिएको छ ।
अहिले बजारमा उपलब्ध दीपल एस-०७ को प्रतिस्पर्धी मोडलको रूपमा आउन लागेको आइएम-सिक्सले बीवाइडी सिलायन-सेभेनसँग पनि प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । माथि उल्लेख भएका दुवै प्रतिस्पर्धीसँग टक्कर गर्न सक्ने यसको बनोटले देखाउँछ ।
चिनियाँ अटोमोबाइल ग्रुप एसएआइसी मोटर, अलिवावा ग्रुप र ह्यान्जिङ हाइटेकको संयुक्त लगानीमा स्थापना भएको आइएम मोटर्स कुपे डिजाइन एसयूभी हो । त्यसैले पनि अन्य प्रतिस्पर्धीभन्दा यो पृथक छ ।
उन्नत प्रविधि प्रयोग भएको एसयूभीमा तीन वटा स्क्रीन पाउन सकिन्छ । मसाज सिट, २० स्पीकर सहितको अडियो सिस्टमले यसलाई थ्रिएटरको अनुभव दिलाउने छ ।
अहिले नेपाल आएको १० युनिट कारमा २१६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । साथै, यसको पीकटर्क ४५० न्युटन मिटर छ । त्यसैले पावरको मामलामा पनि आइएम-सिक्स प्रतिस्पर्धीभन्दा अब्बल छ ।

चिनियाँ अटोमोबाइल जाइन्ट एसएआइसी ग्रुपले यसमा ७५ किलोवाट आवरको टर्नरी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमै ५०० किलोमिटर आसपास रेन्ज दिने छ ।
आइएम-सिक्समा ‘एडी’ नामक स्मार्ट ड्राइभिङ एसिस्ट दिइएको छ । कम्पनीका अनुसार एडी स्मार्ट ड्राइभिङ एसिस्ट निकै सुरक्षीत छ । यसको पूर्ण प्रयोगले चालकको भन्दा ६.७ गुणा बढी सुरक्षा पाउन सकिन्छ ।
एसएआईसी ग्रुपले आइएम-६ मोडललाई लिजार्ड डिजिटल च्यासिसमा तयार गरेको हो । निकै इन्टेलिजेन्ट फिचरको साथ आएको क्रसओभर मोडलमा हाइ-प्रिकसन लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, ‘क्वालकमको स्न्यापड्रागन एसए-८२९५ पी प्लेटफर्म’सहितको स्मार्ट ककपिट पाउन सकिन्छ ।
यसमा रहेको अटोनोमस पार्किङ एसिस्टेन्स पनि निकै रोचक छ । त्यो के भने पार्किङ सेन्सर मात्रै यसमा ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ छ ।
कति पर्ला मूल्य ?
आइएम-सिक्स अटो शोमा किन्ने योजना बनाउनुभएको छ भने कम्तीमा ७५ लाख हाराहारी तिर्नु पर्ने निश्चित जस्तै छ । कम्पनीले कुन साइजको मोटरमा कुपे एसयूभीलाई बिक्री गर्छ, त्यसले नै मूल्य निर्धारण गर्छ ।
यदि, ७५ लाख आसपासमा आइएम-सिक्स बिक्री सुरू भयो भने यसले प्रतिस्पर्धीको टाउको पक्कै दुखाउने छ ।

