काठमाडौं । नारायणगढ–बुटबल सडक बिस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने भएको छ । सो सडक खण्ड विस्तारका लागि आह्वान गरेको बोलपत्रमा चीनको चाइना स्टेटले न्यून लागत कबुल गरेकाले कम्पनीलाई ठेक्का दिन लागिएको हो ।
सवारीसाधनको चाप बढेसँगै उक्त सडकखन्ड बिस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि एडीबीले ऋण सहयोग गर्ने भएको छ । एडीबीले कुल लागतको ८५ प्रतिशत रकम ऋण स्वरुप उपलब्ध गराउनेछ भने, नपुग रकम नेपाल सरकारले थप्ने छ । एडीबीले ३२ वर्षका लागि दिन लागेको ऋण १.५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने भएको छ ।
१ सय १३ किलोमिटर लामो यो सडक खण्डलाई दुई भागमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो । सो सडकलाई नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटरमा विभाजन गरीएको छ ।
निर्देशनालयले सडक स्तरोन्नति गर्न २०७५ वैशाख ७ गते बोलपत्र आह्वान गरेको थियो । दुवै खण्डमा नौ–नौ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । प्राविधिक मूल्याङ्कनमा नारायणगढ–दाउन्ने खण्डका लागि ६ कम्पनी र दाउन्ने–बुटवल खण्डमा सात कम्पनी सूचीकृत भएका थिए ।
आर्थिक मूल्याङ्कनको आधारमा दुई खण्डनै चाइना स्टेटले निर्माण गर्ने भएको छ । यो कम्पनीले नारयाणगढ–दाउन्ने सडकखण्ड ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल खण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा स्तरोन्नति गर्ने कबुल गरेको हो ।

