काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ को तयारी तीव्र भएको छ ।
नाडा अटो शोमा सहभागी ब्राण्डहरूले धमाधम स्टल निर्माण गरिरहेका हुन् । आयोजना स्थल भृकुटीमण्डपको प्रदर्शनी हल र बाहिर खुलाचौरमा धमाधम स्टल निर्माण गरिरहेका हुन् ।
ब्राण्डहरूले अवलोकनकर्तालाई आकर्षित एक अर्काकोभन्दा आकर्षक डिजाइनका स्टल बनाइरहेका छन् । अहिले भृकुटीमण्डपमा स्टल निर्माणमा करिब ३०० बढी जनशक्ति खटिएका छन् ।
यसपटक नाडा अटो शोमा ३६ ब्राण्डले सहभागिता जनाएका छन् । अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुइपाँग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् ।
नाडाले अटो शोलाई भव्य बनाउन पहिलो पटक रोबोट, फ्लाइङ कार, भिन्टेज कार प्रदर्शन गर्दैछ ।
त्यस्तै, स्वदेशी उत्पादन भएका सवारी साधन तथा स्पेयर पार्टसको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ ।
अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ ।
अटो शोको लागि टिकट बुकिङ खुलाइ भइसकेको र भदौ २ गतेसम्म बुकिङ गर्नेले २० प्रतिशत क्यासब्याक पाउने उनले बताए ।

