काठमाडौं । दीपल एस-०५ नेपाल आइपुगेको दुई साताभन्दा बढी भयो । मैले नेपाल आउने बित्तिकै छोटो ड्राइभ गरेको थिएँ । उपत्यकाको दरबारमार्ग एरियामा मात्रै चलाएको भरमा गाडीको धेरै कुरा भन्न सकिने अवस्था थिएन ।
त्यसैले त्यति बेलाको ड्राइभिङ अनुभव मैले यसरी लेखेको थिएँ । यदि, त्यो अनुभव पढ्न चाहनु हुन्छ यहाँ क्लिक गर्नुहोला ।
आज एक कार्यक्रम आयोजना गरी एस-०५ को आधिकारिक बिक्री सुरू हुँदैछ । नाडा अटो शो २०२५ को दौरान यसलाई धेरै मानिसले ‘टच एण्ड फिल’ गर्न पाउने छन् । काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि नाडा अटो शो आयोजना हुँदैछ ।
अब कुरा गरौं, दीपल एस-०५ को टेस्ट ड्राइभका विषयमा । मैले काठमाडौंबाट सितापाइला धार्के सडकमा यसलाई चलाएर हेरेको थिएँ । यो बाटो कस्तो छ भन्ने ज्ञान धेरैमा छ । उकालो, ओरालो, सार्प घुम्तीहरू, एकाध स्थानमा अफरोड र हिलो बाटो पनि थियो । हिलो पनि रातोमाटोको थियो । त्यसैले गाडीको टायरको कलर नै परिवर्तन भयो ।

समथर भू-भागमा गाडीको पावर अचाक्ली लाग्छ । केबल ९९ किलोवाटको मोटर भए पनि लाइट वेट भएको कारण पर्फमेन्स उत्कृष्ट छ । ३२० न्युटन मिटरको टर्कले गाडीको तान्ने क्षमता अब्बल बनाएको छ । ठ्याक्कै भन्नुपर्दा यसलाई चलाउने जो कोही इको मोडमा पाइने पावरबाटै खुस हुनेछ । यदि, स्पोर्टस मोडमा लगाउने हो भने त गाडी नै फेरेको भान हुन्छ ।
हामीले चलाएर हेरेको बाटोमा घुम्तीको संख्या धेरै नै थियो । बाटोमा अन्य साधनको आवतजावत कम भएको कारण मैले यसको कर्नरिङ, ब्रेक लगायतको कुरा परीक्षण गर्न पाए । एक्सलरेसन जति उत्कृष्ट छ, त्यही रेसियोमा ब्रेकको रेस्पोन्स पनि राम्रो छ । त्यसले चालकलाई ढुक्कसँग गाडी कुदाउने अनुमाति दिएको भान हुन्छ ।
रिभर्स सेन्सर र पार्किङ क्यामेराको क्वालिटी राम्रो छ । जस्तोसुकै साँघुरो स्थानमा घुमाउन होस् वा पार्किङ गर्न निकै सजिलो छ । निकै एरोडाइनामिक डिजाइन अपनाएको एस-०५ को ड्रयाग को–इफिसियन्ट ०.२५८ सीडी छ ।
दीपलले निकै स्मुद ड्राइभिङ अनुभव प्रदान गर्नेगरी यसलाई बनाएको छ । रियर ह्वील ड्राइभ मोटर, म्याकफेर्सनको फ्रन्ट सेस्पेन्सन र मल्टी लिंक रियर सस्पेन्सले उच्च लग्जरी प्रदान गर्नेछ ।
सुरक्षा फिचरमा अब्बल
आधुनिक ईभीहरू टेक फिचरले भरिपूर्ण हुन्छन् । यसमा पनि रिमोर्ट पार्किङदेखि एडास लेभल टुसम्मका फिचर छन् । यी सबै फिचरले सुरक्षा प्रदान गर्ने नै हो । यसको मुख्य विशेषता ट्रान्सप्यारेन्ट चेसिस र स्मार्ट की कन्ट्रोल पनि हो ।
६ वटा एयरब्याग, एडास भित्र रहेका १९ आधुनिक फिचर, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, ५ एचडी क्यामेरा, ५ मिलिमिटर वेभ रडार, १२ अल्ट्रासोनिक सेन्सर, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता फिचर छन् । यी सबै फिचरको संयोजनले चालकलाई निकै सहज बनाएको छ ।

डिजाइन
‘इन्टरनेशनल फोरम डिजाइन अवार्ड २०२५’ अवार्ड जितेको एस-०५ साइजको हिसाबले पनि उत्कृष्ट छ । फ्रन्टमा दिएको एक्टिभ एयर फ्ल्याप, क्लोजअफ ग्रिल, बीचमा दिइएको दीपलको लोगो र ठ्याक्कै त्यसको तल पाइने क्यामेराको संयोजन उत्कृष्ट लाग्छ । फ्रन्ट बम्परलाई निकै आक्रमक बनाइएको छ ।
फरक कलरको लुकिङ ग्लास, छतमा प्रयोग गरिएको ठूलो पानारोमिक क्लास रुफ, पछाडि दिइएको कनेक्टेड लाइटबार, स्पोइलरको बीचमा दिइएको ब्रेक लाइट जस्ता फिचरले यसलाई क्लास लिडर बनाएको छ । ठूलो बडी क्लाडिङ, पछाडि स्पोर्टी बम्पर, युनिक जिाइनमा दिइएको हेडल्याम्प र टेल ल्याम्पले यसको रोड प्रजेन्स उत्कृष्ट लाग्छ ।

बाहिर जस्तै इन्टेरियर पनि निकै ‘रिच’ लाग्छ । लेदर सिट, भ्यान्टिलेटेट/हिटेड सिट, दुई कलरमा सजिएको ड्यास बोर्ड र ड्यासबोर्डमा ठडिएको १५.४ इन्चको सनफ्लो टच स्क्रीन, फराकिलो सेन्टर कन्सोलले नतान्ने कुरै भएन । सिधा भन्नु पर्दा चालक र यात्रुको सानो सानो कुरा सम्बोधन गर्नेगरी यसको क्याबिन तयार गरिएको छ ।
ब्याट्रीमा पनि गज्जप
दीपलले अर्को चिनियाँ कम्पनी सीएटीएलले उत्पादन गरेको लेटेस्ट ब्याट्री प्रयोग गरेर यसलाई बजारमा ल्याएको छ । कम्पनीका अनुसार ६ लाख किलोमिटरसम्म ढुक्कले चलाउन मिल्ने नयाँ जेनेरेशन गोल्डन सिल्ड २.० ब्याट्री यसमा छ । यसको चार्जिङ लाइफ ५ हजार साइकल आसपास रहने कम्पनीको दावी छ ।
रेन्जको मामलामा पनि एस-०५ पर्फेक्ट लाग्छ । ५६.१२ किलोवाट आवरको ब्याट्री उपलब्ध कारको रेन्ज डब्लूएलटीपीका अनुसार ४७० किलोमिटर रहेको छ । रेन्जको मामलामा निकै किफायती देखिएको छ । यसमा रहेको ब्याट्री ३सी सपोर्ट गर्न सक्षम छ । यसले १५० किलोवाटसम्मको डीसी चार्जर लिन्छ ।


