ब्याज पनि तिर्न नसक्ने अवस्थामा नेपाल जनरल मार्केटिङ, बैंकले निकाल्यो लिलामी

काठमाडौं । व्यवसायिक घराना ज्योति ग्रुप अन्तर्गत नेपाल जनरल मार्केटिङ एकपछि अर्को संकटमा फस्दै गएको छ ।

दुई वर्षअघि मात्रै चर्चित मोटरसाइलक ब्राण्ड हिरोको डिलरशिप गुमाएको जनरल मार्केटिङ अहिले बैंकबाट लिएको ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगेको हो । हाल हिरोको मोटरसाइक चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री गरिरहेको छ ।

कम्पनीले लिएको ऋणको नियमित साँवा ब्याज नतिरेपछि नेपाल बैंकले मंगलबार कम्पनीको शेयरधनी अभिक ज्योति र सुरुची ज्योति र धनजमानी रुप ज्योतिको नाममा रहेको घरजग्गा लिलामीको सूचना निकालेको छ ।

ऋणको साँवा ब्याज तिर्नका लागि पटक पटक ताकेता गरिए पनि नआएकाले कानुन बमोजिम घरजग्गा लिलामी गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उनीहरुको नाममा रहेको काठमाडौंको वडा नं. ३० स्थित कित्ता नं. २३०९ को सवा ४ रोपनी क्षेत्रफलको घरजग्गा लिलामी गर्न लागिएको हो ।

उक्त घरजग्गा सकार्न इच्छुक व्यक्तिले भदौ १० गतेभित्र बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

यद्यपि, बैंकले कम्पनीलाई ३५ दिन भित्र ऋण चुक्ता गर्ने मौका दिएको छ । आगामी भदौ ८ गते भित्र कर्जा चुक्ता नगरे लिलामी प्रक्रिया अघि बढाइने बैंकले चेतावनी दिएको छ ।

आफ्नो हातबाट चर्चित हिरोको डिलर गुमाएपछि जनरल मार्केटिङले हाल चिनियाँ ब्राण्डको जोङसेन मोटरसाइकल बेच्ने प्रयास गरेको छ । तर, यो मोटरसाइकल नेपाली बजारमा यसअघि नै फ्लप भइसकेको बजार पाउने देखिँदैन ।


Back_to_top