नेटा भीमा ५० किलोवाटको मोटरमा, ब्याट्री पनि परिवर्तन, मूल्य कति ?

काठमाडौं । सिजी मोटर्सले अहिले नेटा भीलाई पीक पावर ५० किलोवाटको मोटरमा नेपाल ल्याएर बिक्री गर्न थालेको छ । सरकारले बजेट मार्फत मूल्य बढाएपछि कम्पनीले ७० किलोवाट क्षमताको मोटरमा नेटा भी ल्याएको थिएन ।

‘अहिले हामीसँगै सबै ५० किलोवाट क्षमताको मोटरमा नै नेटा भी उपलब्ध छ । मोटर परिवर्तनसँगै ब्याट्री पनि फेरिएको हो’, सिजी मोटर स्रोतले भन्यो ।

कम्पनीले यसमा दिएको ३८ किलोवाट आवरको एनसीएम ब्याट्रीलाई हटाएर ४०.७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । कम्पनीले रेन्जमा भने कुनै परिवर्तन नभएको जनाएको छ । नयाँ ब्याट्रीको एनइडीसी सर्टिफाइ रेन्ज ३८० किलोमिटर रहेको छ ।

नयाँ ब्याट्रीले ४० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको कम्पनीको दावी छ ।

गाडीको साइज र फिचरमा भने परिवर्तन भएको छैन । लेदर सिट, ३३५ लिटरको बुट स्पेश, १२ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्गशनल स्टेरिङ ह्वील जस्ता फिचर छन् ।

सुरक्षाको लागि एयरब्याग, एबीएस, इबीडी, पार्किङ सेन्सर, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम, भेहिकल मेन्टीनेन्स रिमाइन्डर, स्पीड अर्लट पाउन सकिन्छ ।

मोटर पावर कम र ब्याट्री परिवर्तन भएर आएको नेटा भीको मूल्य पहिलेकै ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, गाडी किन्ने ग्राहकलाई ३ देखि ५ लाखसम्म नगद छुट दिदै आएको बुझिएको छ ।


Back_to_top