खुम्चिँदै दुईपाँग्रेको आयात, अनएसेम्बलको भने बढ्दै

काठमाडौं । दुईपाँग्रे सवार साधनको आयात झनै खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसको तुलनामा माघ महिनामा दुईपाँग्रे सवारीसाधन आयात १३ प्रतिशतले घटेको हो ।

चालु आवको पुसमा ९ हजार ३०६ यूनिट पेट्रोलबाट चल्ने दुईपाँग्रे सवारी साधन आयात भएकोमा माघ महिनामा ८ हजार १४६ यूनिटमा झरेको छ ।

चालु आवको ७ महिना कुल ६९ हजार ९४७ यूनिट मात्र पेट्रोलबाट चल्ने दुईपाँग्रे सवारी साधन आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७१ हजार २२५ यूनिट दुईपाँग्रे आयात भएको देखिन्छ ।

त्यस्तै, इलेक्ट्रीक दुईपाँग्रे तर्फ माघ महिनामा ३९३ यूनिट आयात भएको देखिन्छ । चालु आवको ७ महिनामा ४ हजार ६० यूनिट इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल आयात भएको छ ।

अनएसेम्बल अवस्थाका मोटरसाइकल तथा स्कुटरको आयात भने बढ्दो छ । चालु आवको सातौं महिनामा ८ हजार १४६ यूनिट दुईपाँग्रे आयात भएकोमा अनएसेम्बलतर्फ मात्रै ४ हजार ९५० यूनिट आयात भएको छ ।

सरकारले नेपालमा नै मोटरसाइकल एसेम्बल गर्दा करमा सहुलियतको दिएकाले एसेम्बल प्लान्ट स्थापना गर्ने कम्पनीहरू थपिँदै गएसँगै अन एसेम्बल मोटरसाइकल आयात बढ्दो छ ।

पछिल्लो समय बजाज, टीभीएस, रोयल इनफिल्ड, यामाहा जस्ता कम्पनीले नेपालमा नै मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । हिरोको एसेम्बल प्लान्ट पनि चाँडै संचालनमा आउने भएको छ ।


Back_to_top