नयाँ वर्ष २०२० को सुरुमै नेपाल आउँदै दुई नयाँ चारपाँग्रे ब्राण्ड

काठमाडौं । पछिल्लो केही वर्षयतादेखि थुप्रै नयाँ ब्रान्ड नेपाल भित्रिरहेका छन् । विशेष गरेर दुईपाँग्रे सेग्मेन्ट र चारपाँग्रे सेग्मेन्टमा पनि नयाँ ब्राण्ड आउने क्रम जारी रहेको छ ।

सानो बजारका बाबजुद चारपाँग्रे सवारी साधन उत्पादन गर्ने ब्राण्डका उत्पादनले नेपालमा नयाँ बजार बिस्तार गरिरहेको समयमा सन् २०२० को सुरुवाति समयमा नै विश्व प्रसिद्ध कार उत्पादक बिएमडब्ल्यू नेपाल आउने भएको छ । साथै, मलेसियन ब्राण्ड प्रोटोन पनि नेपाली बजारमा आउने तयारी अन्तिम चरणमा पुर्याएको ब्राण्ड हो ।

बिएमडब्ल्यू


विश्व बजारमा १०३ वर्षे इतिहास बोकेको लग्जरी कार उत्पादक कम्पनी बिएमडब्ल्यूका उत्पादन नेपाल आउने भएको छ । बिएमडब्ल्यूका चारपाँग्रे सवारी  आयात गर्न लागेको कम्पनी लक्ष्मी प्रीमीयमले कुन मितिमा नेपाली बजारमा सार्वजनिक गर्ने भन्ने विषयमा केही जानकारी नदिएपनि काठमाडौंको तीनकुनेमा निर्माणाधीन शोरुमको काम अन्तिम चरणमा पुगेबाट उक्त ब्राण्ड चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

विश्वका ठूला राजनीतिज्ञ, व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बिएमडब्ल्यू गुणस्तर, सुरक्षा र आरामदायीपनको लागि प्रसिद्ध रहेको छ । सुरुमा नेपाली बजारमा कुन–कुन मोडल आउने छ भन्ने विषयमा समेत कम्पनीले केही खुलाएको छैन ।

प्रोटोन


जगदम्बा ग्रुपले नेपालमा चारपाङ्ग्रे सवारीसाधनको बिक्री–वितरण सुरु गर्ने तयारी गरिरहेको छ । मलेसियन मोटर कम्पनी प्रोटोनका उत्पादन नयाँ वर्ष २०२० बाटै बिक्री सुरु हुनेछ । काठमाडौंको नक्सालमा निर्माणाधीन शोरुमको काम समेत अन्तिम चरणमा पुगेको छ ।

नेपाली बजारमा प्रोटोनका एसयूभीहरु सबैभन्दा पहिला आउने अनुमान गरिएको छ । यद्यपी, जगदम्बा मोटर्सले कुन कुन मोडलका कारहरु नेपाली बजारमा ल्याउने छ भन्ने विषय केही जानकारी दिएको छैन । तर, सम्भवत एसयूभी एक्स–७० नेपाली बजारमा आउने प्रोटोनको पहिलो गाडी हुनेछ ।


Back_to_top