निषेधाज्ञाको बीच नेपाल आउने भयो ३ नयाँ मोडल

काठमाडौं । कोभिड १९ को दोस्रो लहरका बीच ग्रेटवाल र हाभल ब्राण्डका ३ नयाँ मोडल नेपाली बजारमा आउने भएका छन् । चिनियाँ कम्पनी ग्रेटवाल मोटरको स्वामित्वमा रहेको हाभलका दुई एसयूभी र ग्रेटवालको एक पीक अप पहिलो चरणमा नेपाल आउन लागेको हो ।

विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स आधिकारीक वितरक नियुक्त भएसँगै यी गाडी नेपाल ल्याउने प्रक्रिया सुरु भएको थियो ।

‘हामीले अहिले नेपाल ल्याउन लागेको ३ वटै मोडल चीनमा सर्वाधिक विक्री हुने मोडल हुन् । यी गाडीले नेपाली बजारमा पनि निकै राम्रो व्यापार गर्ने हाम्रो अपेक्षा रहेको छ’, भिजी इम्पेक्स स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले नेपाल ल्याउन लागेका गाडी १५ दिन भित्र नेपाल आइपुग्ने जानकारी दिएको छ । यी गाडी नेपाल आएपनि निषेधाज्ञा सकिएपछि मात्रै विक्री वितरण सुरु हुने छ । कम्पनीले नेपाल ल्याउन लागेको मोडलमा हाभल जोलीयन र एच सिक्स एसयूभी हो भने पोयर पीकअप हो ।

हाभल जोलीयनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४० हर्स पावर र २१० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल तथा ७ स्पीड डिसीटी अटोमेटिक गियरबक्स रहेको छ । कम्पनीका अनुसार यो एसयूभीले ७ लिटर पेट्रोलमा १०० किलोमिटर माइलेज दिनेछ ।

कम्पनीले ल्याउँदै गरेको अर्को एसयूभी हाभल एच सिक्स हो । यस एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्यूल क्लच ट्रान्समिसन दिइएको छ ।

ग्रेटवाल पोयर पीकअप पनि पहिलो लटमा नै नेपाल आउन लागेको कम्पनीले जनाएको छ । यस पीकअपमा २.० लिटरको टर्बो चार्ज्ड डिजल इन्जिन रहेको छ । जसले १६० हर्स पावर तथा ४०० एनएम टर्क उत्पादन गर्छ ।

यी कुनैपनि मोडलको मूल्य र अन्य फिचरको बारेमा कम्पनीले जानकारी दिएको छैन । त्यसको लागि केहि दिन भने कुर्नु पर्ने हुन्छ ।


Back_to_top