इसुजुको सफल पीक अप डि-म्याक्सको हाइल्याण्डर भेरियन्ट भारतमा सार्वजनिक भएको छ । भारतमा सार्वजनिक भएसँगै यो नयाँ भेरियन्टको पीकअप चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा इसुजुका पीकअप तथा एसयूभी कन्टिनेन्टल ट्रेडिङले विक्री वितरण गर्दै आएको छ ।
इसुजुले भारतमा उत्पादन गर्ने पीकअप डि-म्याक्स हाइल्याण्डर, भि क्रस र भि क्रस जेडको अपग्रेड मोडल सार्वजनिक गरेको हो । अपग्रेड भएका यी सबै पीकअपमा भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन दिइएको छ । सबै भेरियन्ट १.९ लिटर क्षमताको फोर सिलिण्डर टर्बो डिजेल इन्जिनमा उपलब्ध रहने छन् । उक्त इन्जिनले अधिकतम १६३ हर्सपावर र ३६० एनएम टर्क प्रदान गर्ने छ । जुन यसअघिको इन्जिनले प्रदान गर्ने पावर र टर्कको तुलनामा १३ हर्सपावर र १० एनएमले बढी हो ।
फोर ह्वील ड्राइभ र ६ स्पीड म्यानुयल तथा अटोमेटिक गियरबक्समा भि क्रस भेरियन्टहरु उपलब्ध रहने छन् भने हाइल्याण्डर भेरियन्टमा ६ स्पीड म्यानुयल गियरबक्स र टु ह्वील ड्राइभ सिस्टम रहेको छ ।
इन्ट्री लेभल भेरियन्टको रुपमा आएको डिम्याक्स हाइल्याण्डर भेरियन्टमा दुई एयरव्याग, एबीएसको साथ इबीडी, रियर पार्किङ सेन्सर, आइएसओफिक्स चाइल्ड सिट, १६ इन्चको स्टील ह्वील र ह्वील कभर, ६ वे एड्जस्ट गर्न मिल्ने चालक सिट, पावर विन्डो, एसी, हिटर जस्ता फिचर उपलब्ध रहेका छन् । यो गाडी भारतमा १६ लाख ९८ हजार मूल्य तोकेर विक्री सुरु भएको छ । जुन भि क्रस भेरियन्टको सुरुवाती मूल्यभन्दा २ लाख भारतीय रुपैयाँले सस्तो रहेको छ ।
नेपालमा पनि डि-म्याक्स हाइल्याण्डर भेरियन्ट पक्कै आउने छ ।


