काठमाडौं । नेपाली बजारमा बीवाइडी एटो वानको अपडेटेड मोडल बिक्री सुरू भएको छ ।
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आजदेखि सुरू भएको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ एटो वान सार्वजनिक गरेको हो ।
नयाँ एटो वानमा ३६० डिग्री क्यामेरा र फोल्डएबल ओआरभीएम थपिएर आएको हो । यसले दैनिक ड्राइभिङलाई थप सुविधायुक्त बनाउने कम्पनीको भनाइ छ । यी बाहेक अरु फिचर सबै पुरानै छन् ।
कम्पनीले नयाँ एटो वान दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा डाइनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार र प्रिमियम भेरियन्टको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
एटो वानको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।
यसमा ४५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको रूपमा यसको बिक्री सुरू भएको हो ।
एटो वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ । मिलिमस्टिक डिजाइन रहेको बीवाइडी एटो वानमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पाउन सकिन्छ ।


