२०२० मा नेपाल आउने नयाँ कार, इलेक्ट्रीक कारको दबदबा

काठमाडौं । विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् । यस्तोमा २०२० को ६ महिना भित्र नेपाली बजारमा आउन सक्ने केही कारको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौ ।

टाटा, हुन्डाई, महिन्द्रा, जीप, रेनो र स्कोडाले नयाँ मोडल बजारमा उतार्ने देखिएको छ । यी मध्य नेपाली बजारमा धेरै मानिसले रुचाउने र रुचाउन सक्ने केही मोडलको हामी यहाँ चर्चा गर्ने छौं ।

 टाटा नेक्सन इभी

टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले २०२० को पहिलो क्वाटरसम्ममा बजारमा ल्याउन सक्ने मोडल हो नेक्सन इभी ।

इलेक्ट्रीक सवारीको माग बढ्दै गएको समयमा नेपाल आउने तयारीमा रहेको नेक्सन इभी मूल्य, रेञ्ज, फिचरजस्ता कारण अहिलेनै चर्चाको शिखरमा रहेको छ । यस्तोमा टाटा नेक्सन इभीले नेपाली बजारमा निकै राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।

३५ लाख हाराहारीको सुरुवाति मूल्य, ३०० किलोमिटर रेञ्ज र टाटाका कारको इतिहासमै पहिलो पटक दिइएको सनरुफ यसको मुख्य विशेषता हो ।

हुन्डाई ग्रान्ड आई १० नियोस

हुन्डाइको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ग्रान्ड आई १० नियोसलाई अप्रिल २०२० सम्ममा नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल मध्यएको एक मोडललाई नेपाली बजारमा ल्याएसँगै त्यसले नयाँ उचाई भेट्ने कम्पनीले अपेक्षा गरेको छ ।

ग्रान्ड आई १० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक्स दिएर नियोस तयार गरिएको छ । नयाँ कारमा १५ इन्चको अलोय ह्वील लगाइएको छ भने पछाडि नयाँ बम्पर दिइएको छ ।

रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प, स्लिकर डिजाइन, नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल जस्ता परिवर्तन नयाँ नियोसमा पाउन सकिन्छ । यसमा दिइएको मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट र न्यू टेलाइटले कारलाई निकै आकर्षक बनाएको छ ।

कम्पनीले हुन्डाई भेन्यूमा दिइएको कनेक्टेड कार टेक्नोलोजी यसमा पनि प्रयोग गरेको छ । कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट रहेको छ । साथै, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी चार्जर, रियर एसी भेन्ट, कुल्ड ग्लोबबक्स, रियर पार्किङ क्यामरा लगायतका फिचर उपलब्ध रहेका छन् ।

महिन्द्रा एक्सयूभी ३०० इभी

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी ३००’ को इलेक्ट्रीक मोडल पनि २०२० को पहिलो क्वाटरमा नेपाल आउनसक्ने गाडीको सूचीमा रहेको छ । कम्पनीले आगामी फेब्रुअरी ६ तारिखमा भारतमा हुने अटो एक्स्पोमा सार्वजनिक गर्ने तयारी भइरहेको उक्त एसयूभी मार्चबाट भारतमा बिक्री सुरु हुने जनाइएको छ ।

भारतमा भन्दा इलेक्ट्रीक गाडीको बिक्री नेपालमा धेरै हुने हुँदा महिन्द्राले एक्सयूभी ३०० को इलेक्ट्रीक मोड नेपालमा चाँडो सार्वजनिक गर्ने अनुमान गरिएको छ । महिन्द्राको नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले विगत लामोसमय देखि नेपाली बजारमा इलेक्ट्रीक कार बिक्री गरिरहेकाले यो नयाँ एसयूभी चाँडो नेपाल आउने विश्वास लिइएको छ ।

एक्सयूभी ३०० ले पनि ३०० किलोमिटरको रेञ्ज प्रदान गर्ने जनाइएको छ । यद्यपी कम्पनीले यसमा दिइएको मोटर, व्याट्री प्याकका विषयमा केही जानकारी दिएको छैन । साइज भने एक्सयूभी ३०० कै जस्तो रहने बताइएको छ ।

निसान लिफ

सन् २०२० मा निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ल्याउन लागेको इलेक्ट्रीक कार लिफ पहिलो क्वाटरमा नै सार्वजनिक हुने कार हो । निकै चर्चामा रहेको लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु उपलब्ध रहेको छ । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ ।

यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

रेनो टाइबर

रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले आफ्नो नयाँ मोडल टाइबरको बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले नाडा अटो शो २०१९ मा शोकेस गरेको टाइबर जनवरीमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

रेनोले ल्याउने तयारी गरेको ट्राइबर ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने छ भने कारमा ५ स्पीड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन दिइएको छ । यसमा दिइएको १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

ट्राइबरमा फ्रन्ट डुअल एयरब्यग, हाइ स्पीड वार्निङ, रिभर्स पार्किङ सेन्सर, एबीएसलगायत सुरक्षा विशेषता दिएको छ ।

यी गाडीको अलावा हुन्डाईले अउरा, टाटा अल्ट्रोज, ७ सिटर ग्राभिटास, रेनो क्वीड फेसलिफ्ट, डस्टर फेसलिफ्ट जस्ता गाडी बजारमा आउने छन् ।


Back_to_top