बेलायती मोटरसाइकल कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ताको लागि आबेदन दिएको छ । कम्पनीले नयाँ मोडलको नाम ‘रोयल इन्फिल्ड शेर्पा’ राख्ने गरी ट्रेडमार्क दर्ता गर्न आवेदन दिएको हो ।
कम्पनीले यसअघि १९६० को दशकमा भारतीय बजारमा उक्त नामबाट १४८ सीसी इन्जिनमा मोटरसाइकल समेत उत्पादन गरेको थियो । सो मोडललाई कम्पनीले सन् १९७८ बाट बन्द गरेको हो ।
त्यसपछि कम्पनीले १७३ सीसी क्षमतामा शेर्पाको उत्पादन गरेको थियो । उक्त मोडरसाइकलको टप स्पीड क्षमता ९५ किलोमिटर प्रतिघण्टा रहेको दाबी कम्पनीले गरेको थियो ।
पुरानो नामलाई ८० को दशकबाट छाड्दै गएको कम्पनीले त्यसपछि अन्य नामको प्रयोग गर्दै आएको थियो । लामोसमय बन्द रहेको चेक ब्राण्ड जावालाई महिन्द्राले पुनः भारतमा उत्पादन सुरु गरेसँगै पाएको चर्चा र बजारबाट प्रेरित हुँदै रोयल इन्फिल्डले आफ्नो पुरानो नाम शेर्पाबाट पुनः मोटरसाइकल ल्याउने तयारी गरेको विभिन्न मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
अब आउने रोयल इन्फिल्ड शेर्पा कस्तो डिजाएन र इन्जिनमा आउने छ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन । तर, कम्पनीले बनाउन लागेको कम तौल वा इलेक्ट्रीक मध्ये कुनै एक मोडलको नाम हुन सक्ने अनुमान गरिएको छ ।


