काठमाडौं । विभिन्न कम्पनीले विक्री गर्ने ४ नयाँ मोडलका इलेक्ट्रीक कार नेपालमा बहुप्रतिक्षित मोडल रहेका छन् । हुन्डाई, किया, बीवाइडी र एमजीले नेपाल ल्याउने नयाँ मोडलले नेपाली कार बजारको नक्सा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । यी आउँदै गरेका मोडल धेरै ग्राहकले प्रतिक्षा गरेर बसेका छन् ।
हुन्डाई आयोनिक ५, किया इभी ६, बीवाइडी डल्फिन र एस टु प्लस तथा एमजीको फेसलिफ्ट जेडएस इभी नेपालमा प्रतिक्षा गरिएको मोडल हो । यी सबै मोडल अबको ५/६ महिना भित्रै नेपालमा विक्री सुरु हुनेछ ।
सन् २०२१ मा करिब एक हजार यूनिट पुगेको विद्युतीय कारको बजार सन् २०२२ मा २ हजार ५ सय हाराहारी पुग्ने देखिएको छ । यदि उत्पादक कम्पनीले इभी सप्लाई दिन सक्ने हो भने, सन् २०२२ विद्युतीय गाडीको लागि नयाँ अध्याय लेख्न सफल हुने देखिन्छ ।
विशेषत नयाँ आउँदै गरेका यी एसयूभी र क्रसओभर ह्याचव्याक कारले इलेक्ट्रीक कारको बजारलाई नयाँ दिशा दिने अनुमान गरिएको छ । हुन्डाईको आयोनीक ५ नेपाल आइरहेको छ । अबको केही दिन भित्रै नेपाल प्रवेश गर्ने आयोनीक ५ अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड जित्न सफल मोडल हो । यसलाई हुन्डाईले दक्षिण एशियामै पहिलो पटक नेपालबाट विक्री सुरु गर्न लागेको हो ।

भविष्य उन्मुख डिजाइन, पूर्ण लग्जरी क्याविन, सोलार प्यानल सहितको छत र ५८ किलोवाट आवरको व्याट्री प्याकमा यो नेपाल आउने छ । यसको मूल्यका विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।
कियाको इभी ६ पनि अप्रिलसम्ममा नेपाल ल्याउने तयारी भइरहेको छ । कम्पनीले सम्भवत ७२ किलोवाट आवरको व्याट्री प्याकमा इभी ६ लाई बजारमा उतार्ने छ । यसमा पनि अधिकांश फिचर हुन्डाई आयोनीक ५ बाट लिइएको छ ।

बीवाइडीले सन् २०२२ को पहिलो हाफसम्ममा नेपाली बजारमा दुई नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले डल्फिन (इए–वान) र एस टु प्लस मोडल नेपाल ल्याउने छ । नेपाल आउने एस टु प्लस एसयूभी हो भने डल्फिन प्रिमियम ह्याचव्याक कार हो । कम्पनीले यसको टेक्नीकल डिटेल र मूल्यको विषयमा केही जानकारी दिएको छैन ।

सन् २०२० र २०२१ मा सफलताको झन्डा गाड्न सफल एमजीको इजेडएसको फेसलिफ्ट पनि धेरै ग्राहकले प्रतिक्षा गरिरहेको मोडल हो । इजेडएस फेसलिफ्टमा ५१ र ७२ किलोवाट आवरको दुई व्याट्री अप्सन दिइएको छ । साथै, कम्पनीले यसको सुरक्षा फिचर र फ्रन्ट फेसिकामा व्यापक परिवर्तन गरेर बजारमा ल्याउन लागेको हो ।


