काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने सवारीसाधन मोटरसाइकल तथा स्कुटर नै हुन् । वार्षिक करिब २ लाख ७० हजार हाराहारी विक्री हुँदै आएको दुई पाङ्ग्रे सवारीसाधनमा इलेक्ट्रीकको हिस्सा अत्यन्त न्यून रहेको छ ।
नेपालमा करिब एक दर्जन ब्राण्डले विद्युतीय दुई पाङ्ग्रे साधन विक्री गर्दै आएको भएपनि आयात तथ्यांक हेर्दा धेरै मानिसको ध्यान जान नसकेको प्रस्ट हुन्छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा १ लाख ४९ हजार ३७४ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा विद्युतीय साधनको आयात १ हजार ३६२ यूनिट मात्रै रहेको छ ।
जसरी विद्युतीय गाडीमा बजार हिस्सा बढी रहेको छ, त्यसैगरी दुई पाङ्ग्रे साधनमा आकर्षण आउन सकिरहेको छैन । यसको मुख्य कारण मूल्यलाई मानिन्छ । बजारमा उपलब्ध आइसी इन्जिन भएका स्कुटर र मोटरसाइकलको तुलनामा इभीको मूल्य ग्राहकलाई धेरै लागिरहेको पाइन्छ ।
मूल्यको हिसावले महंगो र चार्ज गर्ने झन्झटको कारण मोटरसाइकल र स्कुटरमा इलेक्ट्रीकलाई अझै केही वर्ष लाग्ने अटो विक्रेताहरुको भनाई छ । केही वर्षपछि अहिले चल्तीका कम्पनीले इलेक्ट्रीक दुई पाङ्ग्रे ल्याउने र आइसी इन्जिनको आयात क्रमिक रुपमा कम हुँदै जाने उनिहरुको भनाइ छ ।
विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन उत्पादनमा विश्वभर नै स्टार्टअप कम्पनीहरु लागि रहेका छन् । नेपालमा पनि यूवा टीमले यात्री मोटरसाइकल कम्पनी खोलेर विद्युतीय मोटरसाइकल उत्पादन र विक्री सुरु गरेका छन् । यात्री पी-१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेको छ । पी-१ डबल स्पोर्टस् मोटरसाइकल हो ।
यसका अलावा नेपालमा करिब दुई दर्जन विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने भन्दै कम्पनी स्थापना भएका छन् । यी कम्पनीले नेपालमा नै मोटरसाइकल उत्पादन गर्ने हो र मूल्य ठिक रहने हो भने बजारले सहजै स्वीकार गर्ने देखिन्छ ।
विद्युतीय दुई पाङ्ग्रेको प्रयोग बढाउन के गर्ने ?
विद्युतीय दुई पाङ्ग्रे साधनको प्रयोग बढाउन सबैभन्दा पहिला प्रदेश सरकारले लगाउने वार्षिक कर छुट दिनु पर्छ । अहिले नेपालको मूख्य साधन नै मोटरसाइकल तथा स्कुटर जस्तो देखिएको अवस्थामा उपभोक्तालाई वार्षिक कर तिर्नु नपर्ने हो भने इलेक्ट्रीकमा जान प्रेरित गर्छ ।
उपभोक्ताको अर्को मुख्य चासोको विषय चार्जिङ स्टेशन र रेन्ज हो । हरेक सरकारी कार्यालय, संघ-संस्था, बैंक तथा वित्तीय संस्था, सपिङ मलका पार्किङ सेन्टर, मझौला रेष्टुरेन्ट र सार्वजनिक पार्किङ स्थलहरुमा चार्जिङ स्टेशन निर्माण अनिर्वाय गर्नु पर्छ ।
अहिलेसम्म औषतमा १०० किलोमिटर रेन्जका मोटरसाइकल र स्कुटर आयात हुँदै आएका छन् । कम्पनीले बढी दावी गरेपनि दावी अनुसारको रेन्ज नपाईने गुनासो पनि बढ्दै गएको छ । त्यसले विद्युतीय साधनको औषत रेञ्ज २०० किलोमिटर हुन सकेको खण्डमा यसको विक्री बढ्ने देखिन्छ ।
सुरुवाती केही वर्ष विद्युतीय साधनको प्रयोग गर्नेलाई पार्किङमा सहुलियत, चार्ज गर्दा चार्जिङ शुल्कमा छुट, केही वर्ष इलेक्ट्रीक दुई पाङ्ग्रे साधन आफ्नै नाममा हुनेलाई लाइसेन्स नविकरणमा छुट जस्ता विशेष स्कीम ल्याएर आकर्षित गर्न सकिन्छ ।
योसँगै नेपालमा नै लिथियम आयोन व्याट्री उत्पादन थाल्न सरकारले अनुदान वा प्याकेज घोषणा गरेर उपभोक्तालाई आस्वस्त पार्न सक्नु पर्छ ।


