परीक्षणमा देखियो नयाँ प्लेटफर्ममा बनेको क्रेटा, साइज पनि ठूलो

काठमाडौं । हुन्डाईको लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको न्यू जेनेरेसन सडक परीक्षणको क्रममा देखिएको छ । न्यू जेन क्रेटा दक्षिण कोरियामा पार्किङ क्षेत्रमा पूर्ण रूपमा ढाकेर राखिएकाे तस्बिर बाहिरिएको हो ।

रिपोर्ट अनुसार नयाँ क्रेटा नयाँ डिजाइन अझ ठूलो आकार र थप एड्भान्स फिचरसहित आउने छ । न्यू जेन क्रेटा हुन्डाईको के ३ प्लेटफर्ममा आधारित हुनेछ । जुन अहिले प्रयोग भइरहेको हुन्डाई के २ प्लेटफर्मभन्दा आधुनिक र मजबुत मानिन्छ। के थ्री प्लेटफर्म हालै सार्वजनिक भएको किया सेल्टोसमा पनि प्रयोग गरिएको छ।

नयाँ क्रेटाको अगाडिको ग्रिल र बम्परमा परिवर्तन हुने अनुमान गरिएको छ। यसमा पिक्सेल शैलीको लाइटिङ एलिमेन्ट, एलईडी डीआरएल र अगाडि पूरै फैलिएको एलईडी स्ट्रिप प्रयोग हुन सक्ने अनुमान छ। हेडलाइटको डिजाइन नयाँ देखिए पनि यसको स्थान अहिलेको मोडेल जस्तै रहने संकेत देखिएको छ।

यसको पछाडिको बम्परको डिजाइन पनि नयाँ हुन सक्ने संकेत देखिएको छ। जसमा तेर्सो रूपमा राखिएका रिफ्लेक्टरहरू देखिन्छन् । बम्परमा भित्री भागमा नयाँ फोर डट लोगो भएको स्टेयरिङ, ठूलो स्क्रीन र नयाँ युजर इन्टरफेस आउने अपेक्षा गरिएको छ।

यसका साथै बोस मोड र पछाडिका तीनै यात्रुका लागि हेडरेस्ट जस्ता सुविधा पनि उपलब्ध हुन सक्ने बताइएको छ। एडास सुरक्षा प्रणाली र कनेक्टेड कार टेक्नोलोजीमा पनि सुधार हुने अपेक्षा छ।

आकारको हिसाबले नयाँ क्रेटा अहिलेकोभन्दा ठूलो देखिएको छ । यसको लम्बाइ हालको ४३३० एमएमबाट बढेर करिब ४५०० एमएमसम्म पुग्न सक्ने सम्भावना छ । त्यस्तै, चौडाइ पनि केही बढ्ने अनुमान छ । जसले गर्दा क्रेटाको भित्री ठाउँ र बुट स्पेस पनि बढ्न सक्छ ।

परीक्षणमा देखिएको न्यू जेन क्रेटा तल्लो भेरियन्ट हुनसक्ने अनुमान गरिएको छ । किनकि यसमा रुफ रेल जस्ता सुविधा देखिएका छैनन् भने कपडाको सिट प्रयोग गरिएको छ। गाडीमा १८ इन्चको ह्वील र हानकुकका टायर प्रयोग गरिएको देखिएको छ। यसको साइड मिररमा क्यामेरा नदेखिएकोले यो भेरियन्टमा ३६० डिग्री क्यामेरा सुविधा नहुन सक्ने अनुमान छ ।

हुन्डाईले नयाँ क्रेटामा इन्जिन भने हालकै निरन्तरता दिनसक्ने सम्भावना छ । क्रेटा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । जसमा ६ देखि ६ स्पीडको म्यानुअल र अटोमेटिक गियर छ ।

हुन्डाईले क्रेटालाई निकट भविष्यमै स्ट्रङ हाइब्रिड अप्सनमा पनि ल्याउन सक्ने चर्चा छ । न्यू जेन क्रेटा सन् २०२६ को अन्त्यतिर वा २०२७ मा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

नेपालमा पनि हुन्डाई क्रेटा निकै चर्चित छ । पेट्रोल भर्सन क्रेटाले आफ्नो सेग्मेन्टमा एक छत्र राज गरिरहेको छ । क्रेटा ईभीमा पनि आकर्षण बढ्दो छ ।


Back_to_top