५ लाखभन्दा कम डाउन पेमेन्टमै पाइन्छ यी दुई विद्युतीय कार

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियम अनुसार अहिले कुनै पनि गाडी किन्न कम्तीमा ४० प्रतिशत डाउन पमेन्ट गर्नुपर्छ ।

सो अनुसार नेपालमा पाइने सबैभन्दा सस्ता मिनी कार (२० लाख हाराहारी) किन्न पनि सुरूमै कम्तीमा ८ लाख तिर्नुपर्छ । अझ ह्याचब्याक किन्ने हो भने कम्तीमा १० लाख र एसयूभी किन्ने हो १५ लाख रुपैयाँ माथि डाउन पेमेन्ट गर्नुपर्छ ।

तर, अहिले बजारमा उपलब्ध २७ लाख माथिका दुई विद्युतीय ह्याचब्याक कार भने ५ लाख रुपैयाँभन्दा कम डाउन पेमेन्ट गरेर घर लैजान पाइने भएको छ । टाटाको टियागो ईभी र चिनियाँ ब्राण्ड दायुन ईभी ५ लाखभन्दा कम डाउन पेमेन्टमै किन्न पाइन्छ । यी दुवै गाडीका बिक्रेताले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो ।

टाटा टियागो ईभीको सुरूआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ र दायुन ईभीको मूल्य ३१ लाख रुपैयाँ छ । राष्ट्र बैंकको नियम अनुसार टियागो किन्न कम्तीमा १० लाख ९९ हजार रुपैयाँ र दायुन किन्न १२ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्थ्यो ।

तर, सिप्रदी ट्रेडिङले टियागो ईभी ४ लाख ९९ हजार र सीजी मोटर्सले दायुन ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध गराउने भएका छन् । यी गाडीको ४० प्रतिशत बराबर हुन् आउने डाउन पेमेन्टको नपुग रकम कम्पनीहरूले नै व्यवस्था गरिदिने भएका हुन् । ग्राहकले यो अफर अन्तर्गत तिरेको डाउन पेमेन्ट बाहेकको रकम मासिक किस्तान्दीमा तिर्नुपर्छ ।

सिप्रदीले ल्याएको ‘स्विच टु टियागो ईभी’ योजना यही फागुन २९ देखि चैत १ गतेसम्म संचालन हुनेछ । यस क्याम्पेनमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग नयाँ टियागो ईभी साटेर घर लैजान सक्नेछन् ।

साथै, ग्राहकले दुईपाँग्रे सवारीको उत्कृष्ट मूल्याकंन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, १ वर्षको सवारी कर छुट, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने छन् ।

त्यस्तै, दायुन ईभी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाटको होम चार्जर, १ वर्षको सडक कर र अटो प्लस बीमा कभरेज पाउने छन् ।

टियागो ईभी

टाटाको फ्यामली ह्याचब्याक टियागो ईभीको लम्बाइ ३७६९ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५२६ एमएम छ । यसमा २४०० लामो ह्वीलबेस छ ।

टियागो ईभी दुई मोटर अप्सन र दुई ब्याट्री अप्सनमा उपलब्ध छ । टाटा टियागो मिड रेन्ज एक्सई भेरियन्टमा १९.२ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । यसले एकपटकको फुलचार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, टाटा टियागो ईभीको फुल अप्सन भेरियन्टमा २४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई कम्पनीले लङ रेन्ज मोडल भन्छ । यसमा ४९ किलोवाट आवरको मोटर जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३१५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

टियागो ईभी डीसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले ५.७ सेकेण्डमै ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

टियागो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचर छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् । टाटाले टियागो ईभीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

दायुन ईभी

दायुन ईभीको लम्बाइ ३६९५ एमएम, चौडाइ १६८५ एमएम, उचाइ १५९८ एमएम र ह्वीलबेस २४१० एमएम छ ।

दायुन ईभीमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी ।

दायुनको कम्प्याक्ट कारको मुख्य विशेषता ग्राउण्ड क्लियरेन्स हो । यसमा २०१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरिङ सिस्टम, एयरब्याग, ईबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्स छन् । साथै, यसमा सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्स छन् ।

दायुन ईभीमा प्रिमियम तथा सेग्मेन्ट लिडिङ जीबीटी चार्जिङ सिस्टम जडान गरिएको छ । सीजीले आफ्नो चार्जिङ नेटवर्कको भरपुर प्रयोग गर्न जीबीटी चार्जर हालेर ल्याएको हो ।

देशभर सीजीका २६० भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू छन् । जहाँ ग्राहकले सहज रूपमा छिटो र भरपर्दो चार्जिङ सुविधा उपभोग गर्न पाउँछन् ।


Back_to_top