‘थर्ड जेन क्रेटा’को इन्टेरियर बाहिरियो, भयो ठूलो परिवर्तन

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाई मोटर कम्पनीकाे लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको तेस्रो पुस्ता (थर्ड जेनेरेसन)को इन्टेरियर बाहिरिएको छ ।

क्यालिफोर्नियाको सडकमा परीक्षण भइरहेको नयाँ क्रेटा (कोडनेम एसएक्स ३)को इन्टेरियर र प्रविधिमा ठूलो परिवर्तनसहित देखिएको हो ।

सार्वजनिक स्पाइ तस्बिरहरूले नयाँ क्रेटामा इन्टेरियर, प्रविधि र डिजाइनमा उल्लेखनीय परिवर्तन हुने स्पष्ट संकेत दिएका छन्। हुन्डाईको नयाँ के थ्री प्लेटफर्ममा बनेको थर्ड जेन क्रेटा सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुवातमा बजारमा आउने अनुमान गरिएको छ।

नयाँ क्रेटाको सबैभन्दा ठूलो परिवर्तन यसको प्रविधिमा भएको छ । यसमा हुन्डाईको प्लियोस कनेक्ट प्रणाली प्रयोग गरिएको छ । जसले इन्फोटेनमेन्ट, इन्स्ट्रुमेन्टेसन र कनेक्टिभिटी प्रणालीका विभिन्न कामलाई एकीकृत गर्छ । प्लियोस कनेक्टले नयाँ क्रेटालाई ‘सफ्टवेयर डिफाइन भेहिकल’मा रूपान्तरण गर्छ । अब क्रेटाका धेरै सुविधा सफ्टवेयरमार्फत संचालन र अपडेट गर्न सकिनेछ।

यसको क्याबिनमा हाल प्रयोग भइरहेको दुईवटा स्क्रीनको सट्टा नयाँ मोडलमा एउटा ठूलो सेन्ट्रल स्क्रीन राखिनेछ, जसबाट इन्फोटेनमेन्ट, गाडीको जानकारी र कनेक्टिभिटी सम्बन्धी अधिकांश काम संचालन हुनेछ । चालकका लागि भने सानो स्क्रीन मात्र राखिनेछ । जसले आवश्यक सूचना देखाउने छ ।

प्लियोस प्रणालीसँग ओटीए अपडेट मार्फत अपरेटिङ सिस्टम मात्र होइन, पावरट्रेन ट्युनिङ र सस्पेन्सन सुधार पनि गर्न सकिन्छ। सफ्टवेयर अपडेट हार्डवेयरबाट स्वतन्त्र रूपमा चल्ने भएकाले गाडीको प्रविधि भविष्यमा पनि अपडेट भइरहन्छ ।

नयाँ क्रेटाको अर्को मुख्य परिवर्तन गियर सेलेक्टरको स्थान परिवर्तन हो । यसलाई स्टेरिङ कोलममा सारिएको छ, जहाँ यो शिफ्ट बाइ वायर स्टिकका रूपमा काम गर्छ। यस्तो सेटअप आयोनिक ५ मा पनि देखिन्छ। गियर सेलेक्टर सारिएपछि क्याबिन अझ सफा देखिन्छ । साथै, नयाँ डिजाइनका एसी भेन्ट, आकर्षक एम्बियन्ट लाइटिङ र थप स्टोरेज स्पेसले गाडीलाई अझ प्रिमियम बनाउने अपेक्षा गरिएको छ ।

नयाँ क्रेटा साइजमा पनि अहिलेको भन्दा ठूलो हुनेछ । यसमा १९ इन्चका ठूला अलोय ह्वील पाउने अपेक्षा गरिएको छ। यसले गाडीलाई अझ दमदार बनाउनेछ। नयाँ क्रेटामा आधुनिक पिक्सेल-शैलीका लाइट, अगाडि हुन्डाईको फोर डट लोगो हुनेछ। अगाडिको भाग अझ ठाडो देखिनेछ र बोनट पनि अग्लो हुनेछ। पहिलेका स्पाइ तस्वीरहरूले अगाडि दुई वटा राडार देखाएका थिए, जसले लेभल २ एडास प्रणालीमा थप सुधार आउने संकेत दिन्छ।

नयाँ क्रेटामा पेट्रोल र डिजेलसँगै हाइब्रिड विकल्प पनि हुनेछ। क्रेटा हाइब्रिड मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ । जसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ र प्लियोस मार्फत सुधारिएको ऊर्जा व्यवस्थापन हुनेछ । टप भेरियन्टमा अल ह्वील ड्राइभ र मल्टि-लिङ्क रियर सस्पेन्सन उपलब्ध हुनेछ। हाइब्रिड संस्करण लन्चमै आउने वा पछि थपिने भन्ने अझ स्पष्ट छैन।

हालको क्रेटा अझै पनि आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री हुने गाडी हो । सिएरा, सेल्टोस र डस्टर जस्ता नयाँ गाडी आएपछि पनि यसले आफ्नो दबदबा कायमै राखेको छ ।


Back_to_top