एक वर्षमा नेपाल आएका १६ नयाँ मोडलमा कुन धेरै ? (सूचीसहित)

काठमाडौं । अंग्रेजी नयाँ वर्ष हामी बीचबाट बिदा हुने तरखरमा छ । नेपालको विद्युतीय सवारी साधन आयातको हिसाबले सन् २०२५ निकै प्रतिस्पर्धी वर्ष बन्यो ।

बजारमा बिद्युतीय कार बिक्रेताहरूले कडा प्रतिस्पर्धा गरे । मूल्यको हिसाबले पनि सम्भवतः नेपाली अटोमोबाइल्स क्षेत्रमा नै सबैभन्दा बढी ‘प्राइसवार’ चलेको वर्षको रूपमा २०२५ लाई लिन सकिन्छ ।

वर्षको सुरूवातमा निकै आकर्षक मूल्यसहित एमजी एस फाइभ बजारमा आएसँगै धेरै ब्राण्डले आफूलाई असुरक्षित महसुस गरे । जसले बजारमा तीव्र प्राइसवार निम्त्यायो । सरकारले ईभीमा कर वृद्धि नगरेको कारण उपभोक्ताले राम्रो फाइदा पाए ।

यहाँ हामीले सन् २०२५ को जनवरी १ देखि डिसेम्बर १५ सम्म आएका नयाँ मोडल र संख्या बारे चर्चा गरेका छौं ।

सन् २०२५ मा एमजीले दुई मोडल ल्यायो । एमजीले एस फाइभ एक वर्षको अवधिमा १०५२ युनिट आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ । अर्को मोडल विन्डसर पनि पारामाउन्ट मोटर्सले २०२५ मै नेपाल ल्याएको हो । यसको आयात भने केबल १८ युनिट भएको छ ।

बीवाइडीको लागि सन् २०२५ नयाँ मोडलको लाइनअप नै देखाउने वर्ष बन्यो । साइमेक्स इंक प्रालिले बीवाइडीको प्रिमियम मोडल सिलायन सेभेन, बहु प्रतिक्षित मोडल एटो टु र इन्ट्री लेभल ह्याचब्याक कार एटो वान बजारमा ल्यायो । यी तीनवटै मोडलको आयात राम्रो भएको छ ।

कम्पनीले एटो टु ५९२ युनिट, एटो वान ५३० युनिट र सिलायन सेभेन २७१ युनिट आयात गरेको छ । यी तीनवटै मोडल मिलाउँदा नयाँ मोडलको आयात नै बीवाइडीले १ हजार ३९३ युनिट आयात गरेको छ ।

हुन्डाईले पनि आफ्नो चर्चित एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन २०२५ मै ल्याएको हो । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले झण्डै १० महिनाको अवधिमा ३५२ युनिट क्रेटा ईभी नेपाल ल्याएको देखिन्छ ।

नाडा अटो शो २०२५ बाट बजारमा प्रवेश गरेको दीपल एस-०५ मोडल पनि निकै सफल देखियो । एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको दीपलको एस-०५ मोडल छोटो समयमा नै ३३१ युनिट आयात भएको छ । कम्पनीकै अर्को ब्राण्ड डोङफेङ नामी भिगो पनि अटो शोमा नै सार्वनिक भएको एसयूभी हो । यसको आयात पनि २१७ युनिट देखिन्छ ।

प्रोटोन इमास सेभेन मोडल एक वर्षको अवधिमा २५२ युनिट आयात भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याएको इमास सेभेनले ठिकठाक चर्चा पाउन सफल भयो ।

सीजी मोटर्सले बिक्री गर्दै आएको आयोन ब्राण्डको पहिलो एसयूभी आयोन भी १८९ युनिट आयात भएको छ । कम्पनीले २०२५ को पहिलो क्वाटरमा यसको बिक्री थालेको थियो ।

जेको ब्राण्डमा नेपाल आएको जे फाइभ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको हो । कम्पनीले डिसेम्बर १५ तारिखसम्म ९७ युनिट जे फाइभ ल्याएको थियो ।

टाटा मोटर्सको नयाँ इलेक्ट्रीक एसयूभी कर्भ पनि २०२५ मै नेपाल आएको हो । सिप्रदीले अहिलेसम्म ९० युनिट कर्भ ईभी ल्याएको तथ्यांकमा देखिन्छ ।

नाइमा बोबिलिटी एक्स्पो मार्फत नै बजारमा आएको लीपमोटर बी-१० को आयात अहिलेसम्म ६१ युनिट भएको छ । कम्पनीले निकै प्रतिस्पर्धी सेग्मेन्टमा ल्याएको बी-१० को सिधा प्रतिस्पर्धा दीपल एस-०५ सँग भएको थियो ।

महिन्द्राले पनि २०२५ को नाइमा मोबिलिटी एक्स्पोबाट आफ्ना दुई मोडल बीई सिक्स र एक्सईभी नाइन ई लन्च गरेको थियो । अघिल्लो महिनाबाट मात्रै अग्नी इन्कर्पोरेट प्रालिले बिक्री सुरू गरेको यी दुई मोडल क्रमशः ३३ र ९ युनिट आयात भएका छन् ।

एलआरआर मोटर्सले पनि जिली ब्राण्डको ग्यालेक्सी सिरिज २०२५ मै लन्च गर्यो । कम्पनीले अहिलेसम्म २६ युनिट ग्यालेक्सी ईएक्स फाइभ नेपाल ल्याएको छ ।


Back_to_top