काठमाडौं । नाडा अटो शो विगत दुई वर्षदेखि हुन सकेको छैन । २०२० र २०२१ को नाडा अटो शो कोभिड १९ को कारण हुन नसकेको हो । अधिकांश मोटरसाइकल विक्रेता कम्पनीहरुले अटो शोलाई ध्यानमा राखेर स्कीम ल्याउने गरेका थिए । यसरी ल्याइएको स्कीम दशैं-तिहार हुँदै छठसम्म चल्ने गरेको थियो ।
अटो शो नहुने भएपछि कम्पनीहरुले भदौको मध्यबाट नै स्कीम ल्याउने तयारी गरेका छन् । मोटरसाइकल विक्रेता मध्ये बजाज सधैँ सबैभन्दा पहिला स्कीम ल्याउने कम्पनीमा पर्दै आएको छ ।
विशेषत दशैं अगाडि नयाँ सवारी साधन किनेर चढ्ने परम्परा रहि आएकोले पनि सबै कम्पनीहरुको ध्यान स्कीममा पर्ने गरेको छ । बजाजपछि यामाहा, टीभीएस, होन्डा, हिरो, अप्रिलिया, भेष्पा, सुजुकी, बेनेली, बीएमडब्लू, केटीएम, हस्कभर्ना, सिएफमोटो, क्रसफायर, हाटफोर्ड जस्ता ब्राण्डले दशैं स्कीम ल्याउने छन् ।
यी कम्पनीको अलावा यसपटक विद्युतीय दुई पाङ्ग्रे सवारी विक्रेता पनि स्कीम ल्याउने तयारी गरिरहेका छन् ।
कस्तो आउला स्कीम ?
कोभिड १९ पछि मानिसको आम्दानी घट्दै गएको विषयलाई मध्यनजर गर्दै कम्पनीहरुले नगद छुट, सून्य प्रतिशत व्याजदर, बीमा, सर्भिस स्कीम, कम डाउन पेमेन्टमा किन्न सकिने योजना र लक्की ड्र मार्फत विशेष पुरस्कार जित्न सक्ने योजना ल्याउने अनुमान गर्न सकिन्छ ।
केही कम्पनीले राइडिङ गियर, नगद छुट, कम व्याजदरमा कर्जा, नियमित कर्जा तिर्नेलाई व्याजदरमा छुट, सून्य प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम पनि ल्याउने अनुमान गर्न सकिन्छ ।
विगतको ट्रेन्डलाई हेर्दा कम्पनीहरुले अहिले दिइरहेको जति नै थप सर्भिसिङ निःशुल्क अफर गर्न सक्ने पनि देखिएको छ ।


