काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन टुसानको मूल्य सार्वजनिक गरेको छ । अबको केही दिनपछि नेपाली बजारमा विक्री सुरु हुन लागेको नयाँ जेनेरेशन टुसानको मूल्य कम्पनीले सार्वजनिक गरेको हो ।
प्रायः सबै मोडलको मूल्य गाडी विक्री सुरु भएपछि मात्रै गर्ने गरेको कम्पनीले टुसानको मूल्य भने अगाडि नै सार्वजनिक गरेको हो । मूल्यसूची अनुसार नयाँ जेनेरेशन टुसान विभिन्न ४ भेरियन्टमा नेपाल आउने छ । यसको विक्री अगस्ट अन्तिम साताबाट सुरु हुने अनुमान गरिएको छ ।
दुई इन्जिन अप्सनको साथ नेपाल आउने नयाँ जेनेशन टुसानको ३ पेट्रोल भेरियन्ट र एक डिजेल भेरियन्ट उपलब्ध हुनेछ । पेट्रोल भेरियन्टमा जिएलएस म्यानुयल, जिएलएस अटोमेटिक र जिएलएक्स अटोमेटिक छन् भने डिजेल भेरियन्टमा जिएलएक्स अटोमेटिकको साथ फोर ह्वील ड्राइभ सिस्टम रहने छ ।

सार्वजनिक भएको मूल्यसूची अनुसार सुरुवाती भेरियन्टको मूल्य ८९ लाख ९६ हजार तोकिएको छ भने टप भेरियन्ट जिएलएक्स अटोमेटिक फोर ह्वील ड्राइभको १ करोड ३४ लाख ९६ हजार रहेको छ ।
यस्तो छ नयाँ टुसान
अहिले नेपाल आउन लागेको हुन्डाई टुसान फोर्थ जेनेरेशन मोडल हो । कम्पनीले ल्याउने नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ ।

राउन्ड ड्यासबोर्ड, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, गियर लिभरको स्थानमा बटम जस्ता फिचर पाउन सकिन्छ ।
यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसी भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता लग्जरी फिचर उपलब्ध रहेको छ ।


