यस्तो देखियो नेपाल आइरहेको नयाँ इभी, रेञ्ज ३०० किलोमिटर

काठमाडौं । केही दिन भित्रै नेपाल आउन लागेको इलेक्ट्रीक कार साइटेक एम सिरिजको पहिलो मोडल देखिएको छ । निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको इलेक्ट्रीक ह्याचव्याक कार दशैंअघि नै नेपालमा विक्री सुरु हुन लागेको हो ।

इभी नेपाल मोटर्सले नेपाली बजारमा साइटेकका इभी ल्याउन लागेको हो । ३५ किलोवाट आवरको लिथियम आयोन व्याट्री जडान भएको यो कारले करिब ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको व्याट्री चर्चित निर्माता क्याटलले उत्पादन गरेको हो ।

नेपाल आइरहेको ह्याचव्याकमा ५५ किलोवाट क्षमताको मोटर जडान भएको यो कारले ४.८ सेकेन्डमा सून्यदेखि ५० किलोमिटरको स्पीड भेट्टाउन सक्छ ।

३७३५ एमएम लम्बाई, २४१५ एमएमको ह्वील वेस, १६५५ एमएम चौडाई र १५५० एमएम उचाई रहेको यो कारलाई सहरी यात्राको लागि उत्कृष्ट मान्न सकिन्छ । १५ इन्चको अलोय र स्टील ह्वील अप्सनमा आउने यो कारमा डिजिटल मोनिटर, १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, राउन्ड गियर नव, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, किलेस इन्ट्री, दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

सुरक्षाको लागि कारमा दुई वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सिङ्ग डोर लक, सेन्ट्रल लक, रिमोर्ट कि, एबीएस, ब्रेकिङ फोर्स डिस्ट्रीव्यूसन, हिल एसिस्ट, पावर स्टेरिङ, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर उपलब्ध रहेको छ ।

काठमाडौंको नक्सालमा शोरुम निर्माण भइसकेको यो कार भदौ महिनाबाट विक्री सुरु हुने अनुमान गरिएको छ । यसको मूल्य ३० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top