काठमाडौं । भारतीय बजारमा पछिल्लो समय एसयूभी (स्पोर्टस यूटिलिटी भेइकल) को माग उच्च रहेको छ । त्यहीअनुरुप सवारी उत्पादक कम्पनीहरूले पनि आफ्ना उत्पादनहरू बजारमा ल्याउने गरेका छन् ।
उत्तर अमेरिकी एसयूभी स्पेसियालिस्ट क्राइस्लर जीपले भारतीय बजारमा मिड साइज प्रिमियम स्पोर्टस् यूटिलिटी भेइकलको सफल प्रयोग गरेको छ । जीप कम्पास भारतीय उपभोक्ताले निक्कै मन पराएको एसयूभी भएको छ ।
भारतमा जीप कम्पासको सफलतापछि कम्पनीले भारतीय बजारमा सप–फोर मिटर एसयूभी र थ्रीरो मिड साइज एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । उपभोक्ताको आवश्कता पूर्तिका लागि नयाँ मोडल बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
क्राइस्लर जीपले ल्याउने सवफोर मिटर एसयूभीले मारुति सुजुकी भिटारा ब्रेजा र फोर्ड इको स्पोर्टस्सँग प्रतिस्पर्धा गर्नेछ भने थ्रीरो एसयूभीले जीप कम्पासका साथै टोयोटाको फर्चुनर र फोर्डको इन्डेभरसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ मोडल भने २०२०–२१ को अन्त्यतिरमात्र सार्वजनिक गर्ने फियाट क्राइस्लरले जनाएको छ । बजारको अवस्था कायम राखिरहन कम्पनीले त्यो बेलासम्ममा हालको कम्पास एसयूभीका विभिन्न भेरियन्ट बजारमा ल्याउने जनाएको छ ।
कम्पनीले जीप कम्पास भारतीय बजारमा २३ हजार यूनिटभन्दा बढी बिक्री गरि सकेको छ ।
त्यस्तै अस्ट्रेलिया, युके, जापान, सिंगापुरलयातका मुलुकमा ८ हजार यूनिटभन्दा बढी निर्यात गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले छोटो अवधिमै करिब ७ सय मिलियन अमेरिकी डलर आम्दानी गरिसकेको छ । यो कम्पनीले सवारी उत्पादनका लागि गरेको लगानीको तुलनामा दोब्बरभन्दा धेरै हो ।
फियाट क्राइस्लरले भारतीय बजारमा सवारीको भविष्य जीपसँग जोडीएको जनाएको छ । कम्पनीले मास मार्केटभन्दा लक्षित बजारलाई बढी केन्द्रित गर्ने नीतिसमेत लिएको छ ।
गत फेब्रुअरीमा फियाट क्रिस्लरले बनाएको योजनामा दायाँहाते ड्राइभ प्रणाली भएको देशमा निर्यातका लागि भारतलाई आधार बनाउने उल्लेख गरेको थियो ।
पुने बाहिर रहेको रंजगांवमा टाटा मोटर्ससँगको सहकार्यमा फियाट इन्डिया अटोमोबाइलले दायाँहाते ड्राइभ गाडीको हबको रुपमा विकास गर्दैछ । कम्पनीकाअनुसार २०१७ को अन्त्यसम्ममा उक्त प्लान्टको क्षमता १.५ गुणाले वृद्धि भएको छ ।
भारतीय बजारमा एसयूभीको हिस्सा बढ्दै जाने निश्चित छ । तर, भारतको आन्तरिक बजारमा भने सवफोर मिटर एसयूभीकै दबदबा रहने फियाट क्राइस्लर अटोमोबाइलको बुझाई छ ।
२०२२ सम्ममा भारतमा एसयूभीको बजार दोब्बरले वृद्धि भइ १.६ मिलियन युनिट पुने अनुमान गरिएको छ ।
यस्तोमा जीप कम्पास नेपाली बजारमा आउने अन्तिम तयारीमा रहेको छ । फियाटकै पुरानो नेटर्वकमा आउने कम्पासको लागि शोरुम निर्माणको काम धमाधम भइरहेको छ ।