निसानले देखायो ४ नयाँ एनईभी कन्सेप्ट मोडल, २०२६ बाट बिक्री हुने

काठमाडौं । जापानी अटोमोबाइल जायन्ट निसान मोटर्सले ४ नयाँ एनईभी कन्सेप्ट प्रिभ्यू गरेको छ ।

कम्पनीले चीनमा जारी बेइजिङ अटो शो २०२४ मा इपोक, एपेक, इभो र एरा गरी चार न्यू इनर्जी भेहिकलको कन्सेप्ट देखाएको हो ।

निसानले देखाएको इपोक सेडान र एपेक एसयूभी पूर्ण इलेक्ट्रीक भेहिकल हो भने इभो सेडान र एरा एसयूभी प्लगइन हाइब्रिड मोडल हुन् ।

चीनमा डोङफेङ मोटर्ससँग ज्वाइन्ट भेन्चर रहेको निसानले सन् २०२६ सम्ममा ५ वटा एनईभी सार्वजनिक गर्ने जानकारी दिएको छ । यो घोषणा पहिलेको भन्दा १ मोडल बढी हो ।

निसानको इपोक पूर्ण इलेक्ट्रीक सेडान हो । यसको सिधा प्रतिस्पर्धा टेस्लाको मोडल थ्रीसँग हुनेछ । त्यस्तै निसानले देखाएको एपेक कन्सेप्ट पनि पूर्ण इलेक्ट्रीक एसयूभी हो । निसानको चलिरहेको मोडल कस्के जत्राे साइज भएको यो एसयूभीमा सिटी र हाइवेका लागि अटोनोमस सिस्टम समेत रहने छ । ट्रीपल स्क्रीन लेआउटमा रहेको यो एसयूभीमा ड्राइभर र यात्रुका लागि कम्फर्टेबल कुसन भएको सिट रहने छ ।

निसानको प्लगइन हाइब्रिड इभो कन्सेप्ट सेडानको डिजाइन आक्रमक देखिन्छ । यसमा आकर्षक डिजाइनको मूर्तिकला जस्तो नोज, टोन्डअप सोल्जर तथा कुल देखिने टेलगेट रहेको छ । यसमा फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, हाइ माउण्टेड सेन्टर कन्सोलका साथै एडास सेफ्टी फिचर समेत रहेको छ । यो कारमा एआई पावर भर्चूअल पर्सनल असिस्टेन्ट समेत रहनेछ ।

त्यस्तै चौथो कन्सेप्ट एरा पनि प्लगइन हाइब्रिड एसयूभी हो । यो विशेष गरी कारलाई सेकेन्ड होमको रूपमा सम्झिने ‘योङ बिजनेस म्यान’लाई लक्षित गरेर डिजाइन गरिएको छ । यसमा निसानको ईफोर्स अलह्वील ड्राइभ तथा कम्फर्टेबल राइडका लागि एक्टीभ एयर सस्पेन्सन सिस्टम दिएको छ ।


Back_to_top