काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल पल्सर २२० एफको २०२४ मोडल सार्वजनिक गर्ने भएको छ ।
बजाज अटोले भारतीय बजारमा फिचर थप गरिएको २२० एफ चाँडै सार्वजनिक गर्ने तयारी गरेको हो । नयाँ पल्सर २२० एफ डिलरहरूमा पुगिसकेको छ । अब केही दिन भित्रै सार्वजनिक गरिने कम्पनीले बताएको छ ।
कम्पनीले २०२४ मोडल २२० एफमा नयाँ ग्राफिक्स डिजाइन र नयाँ कलर अप्सन दिएको छ । यसको फ्युल ट्यांकमा २२० लेखिएको डिजाइन पनि देख्न सकिन्छ । यस बाहेक नयाँ २२० एफमा अन्य कस्मेटिक परिवर्तन केही भएको छैन । यसमा दुई पाइलट ल्याम्प र एउटा प्रोजेक्टर सेटअपका साथ रेगुलर हेड्ल्याम्प र एलईडी टेलल्याम्प पाउन सकिन्छ ।
त्यस्तै, नयाँ २२० एफमा मुख्य परिवर्तन भएको पार्ट भनेको यसको डिस्प्ले हो । बजाजले पुरानो मोडलमा एनालग टेकोमिटर डिस्प्ले दिएको थियो यसमा कुनै जानकारीमूलक डिट्यल्स देख्न पाइने थिएन ।
नयाँ मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । जसमा गियर पोजिसन इन्डिकेटर, कनेक्टिभिटी सिस्टम, मोबाइल नटिफिकेसन अलर्ट, फ्युल इन्डिकेटर र टाइम जस्ता फिचर प्रयोग गर्न सकिन्छ । यस बाहेक नर्मल ट्रिप मिटर, ओडोमिटर, स्पीडोमिटर र फ्युल गज उपलब्ध छ ।
यसमा भएको स्मार्ट कनेन्ट फिचर सजिलै मोबाइलमा भएको बजाज राइड एपमा कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ । यसमा फोन चार्ज गर्नका लागि यूएसबी चार्जिङ पोर्ट पनि पाउन सकिन्छ ।
नयाँ पल्सर २२० एफमा पुरानै २२० सीसीको सिंगल सिलिन्डर, आयल कूल्ड, टू भल्ब, एफआइ, बीएस ६ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २० बीएच को पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५ स्पीडको गियरबक्स र सिंगल च्यानल एबीएस पनि छ ।

