निसानले आफ्नो चर्चित दुई कार सन्नी र माइक्रालाई निसान इन्डियाको आधिकारीक वेभसाइट हटाएको छ । यस्तोमा कम्पनीले यी दुबै मोडलको उत्पादन बन्द गर्ने अनुमान गरिएको हो ।
निसान इन्डियाले आफ्नो वेभसाइटबाट हटाएको दुबै कार नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ । यस्तोमा भारतीय बजारमा यसको उत्पादन बन्द भएको खण्डमा यी दुबै कार नेपाल आउने छैनन् ।
कम्पनीले बन्द गर्न लागेको माइक्रा निसानको इन्ट्रीलेवल ह्याचव्याक हो भने सन्नी सेडान कार हो । बजारमा बिक्री हिसावले यी दुबै कार न्यून रहेको कारण भारतमा यी दुबै कारको उत्पादन बन्द गर्न लागिएको हो ।
निसान माइक्रमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइएको थियो । यसमा रहेको पेट्रोल इन्जिनले ६७ बीएच पावर र १०४ एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले ६३ बीएच पावर र १६० एनएम टर्क प्रदान गर्छ । माइक्रामा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।
त्यसैगरि बन्द हुन लागेको अर्को मोडल सन्नीमा १.५ लिटर डिजेल र पेट्रोल दुबै इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा रहेको १.५ लिटर पेट्रोल इन्जिनले ९८ बीएच पावर र १३४ एनएम टर्क प्रदान गर्छ । त्यस्तै डिजेल इन्जिनले ८५ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्छ ।
यस्तो छ नेपालमा मूल्य
नेपालमा सन्नी पेट्रोल एक्सएल भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ भने डिजेल एक्सएल भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
माइक्रा एक्टीभ नेपाली बजारमा तीन भेरियन्टमा बिक्री हुँदै आएको छ । माइक्रा एक्टीभ एक्सएलको मूल्य २७ लाख ४९ हजार, माइक्रा एक्सभीको मूल्य २९ लाख ४९ हजार र माइक्रा एक्टीभ एक्सएल (अप्सनल)को मूल्य २८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।


