काठमाडौं । नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले निसानको पहिलो इलेक्ट्रीक कार आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ । निसानको चर्चित इलेक्ट्रीक कार लिफ आगामी फेब्रुअरीको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको हो ।
निसान लिफ विश्व बजारमा अहिलेसम्मकै धेरै बिक्री भएको इलेक्ट्रीक कार मोडल हो । निसानले २०२० मा नै भारतीय बजारमा समेत लिफ सार्वजनिक गर्दैछ । तर, निसानले भारतमा भन्दा नेपालमा पहिला लिफ सार्वजनिक हुने भएको हो ।
पछिल्लो दिनमा नेपाली बजारमा पनि इलेक्ट्रीक कारको बिक्री बढ्दै गएकाले पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउन लागेको जनाएको छ ।
निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २१४ बीएच पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।
कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु उपलब्ध रहेको छ । इको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ ।
यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । कारमा नै दिइएको ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ ।

