काठमाडौं । सन् २०११ मा पहिलो पटक बजारमा आएर विद्युतीय कारको बजारमा ठूलो हलचल पैदा गरेको निसान लिफको डिजाइन परिवर्तन हुने भएको छ । कम्पनीले सुरुमा सेडान डिजाइनमा ल्याएको लिफ अबभने क्रसओभर एसयूभी डिजाइनमा आउने भएको हो ।
पछिल्ला १२ वर्षमा विश्वभर ६ लाख ७९ हजार यूनिट लिफ इलेक्ट्रीक कार बिक्री भएको छ । निसानले सन् २०१८ मा सेकेन्ड जेनेरेशन लिफ बजारमा ल्याएसँगै यसको रेन्ज र पावर बढेको थियो ।
सन् २०२० पछि विश्वका धेरै कार निर्माताले नयाँ ईभी बजारमा ल्याए । अन्य ब्राण्डको बिक्री तिब्र गतिमा बढ्दा लिफको प्रतिस्पर्धी क्षमता घट्यो । त्यहि कारण सन् २०२३ मा लिफको बिक्री ४१ प्रतिशतले घटेर जम्मा ७ हजार १५२ यूनिट मात्रै भयो ।
अहिले थुप्रै नयाँ ईभी ब्राण्ड आएका छन् । पुराना ब्राण्डहरु हुन्डाई, फक्सवागेन, टेस्ला, किया, टाटा जस्ता स्थापित ब्राण्डले पनि कम मूल्यमा उत्कृष्ट ईभी दिन सफल भइसकेका टन् । यसले लिफको व्यापार तिब्र रुपमा घटेको हो ।
बदलिदो ईभी बजारलाई मध्य नजर गर्दै निसानले तेस्रो जेनेरेशनको लिफ छिट्टै ल्याउने भएको छ । कम्पनीले सन् २०२५ को मध्यसम्ममा नयाँ लिफ बजारमा ल्याउन लागेको हो ।
कम्पनीले यसको मोटर र व्याट्री साइजको बारेमा आधिकारीक जानकारी नदिएता पनि नयाँ लिफ ‘सीएमएफ ईभी प्लेटफर्म’मा आउने छ । निसान आरिया ईभी बनेको उक्त प्लेटफर्ममा २१४ वा २३८ हर्सपावर दिने सिंगल मोटर र ३३५ वा ३८९ हर्सपावर दिने ड्यूल मोटर सेटअप रहनेछ ।
पहिलेको तुलनामा ठूलो ब्याट्री यसमा रहने छ । सम्भवत ६६ देखि ९१ किलोवाट आवरको ब्याट्री प्याकमा आउने नयाँ लिफले सिंगल चार्जमा ३०० देखि ५०० किलोमिटरसम्म रेन्ज दिन सक्नेछ ।

