स्कोडाले ल्याउने भयो नयाँ ४ मिटरभन्दा छोटो एसयूभी

काठमाडौं । युरोपियन ब्राण्ड स्कोडाले चार मिटरभन्दा छोटो साइजमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले यसको अधिकांश पार्टस् भारतमा उत्पादन गरेर ल्याउन लागेको हो ।

चेक ब्राण्डले भारतमा उत्पादन गर्ने इन्ट्री लेभल एसयूभीको रुपमा नयाँ मोडल आउने छ । यसलाई सन् २०२५ को मध्येसम्ममा बिक्री सुरु गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो ।

भारतमा अहिले सब फोर मिटर सेग्मेन्टमा टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट, रेनो काइगर, सिटोन सीथ्री जस्ता मोडल उत्पादन भइरहेका छन् । त्यसैले पनि यो सेग्मेन्टलाई निकै प्रतिस्पर्धी मानिन्छ ।

सुरुवाती चरणबाटै कार सेग्मेन्टमा सेडान र ह्याचव्याकमा मात्रै केन्द्रित रहेको स्कोडाले पछिल्लो समय भने कम्प्याक्ट एसयूभी कुशक बजारमा ल्याएको थियो । अहिले पनि स्कोडाले भारतमा सबैभन्दा धेरै बिक्री गर्ने मोडल नै कुशक हो ।

स्कोडाले बनाउने नयाँ सब फोर मिटर एसयूभी एमक्यूबी एओ आइएन प्लेटफर्ममा आधारित हुनेछ । कस्ट मिनीमाइज गर्नका लागि यो एसयूभीको धेरै पाट्सहरु कुशक र स्लाभिया मोडलसँग शेयर हुनेछ ।

कम्पनीले यसमा दिने इन्जिन र गियरबक्सको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । यद्यपि, यसमा १.० लिटर, थ्री सिलिण्डर टीएसआई पेट्रोल इन्जिन रहने अनुमान गर्न सकिन्छ । यसमा ६ स्पीडरको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहनेछ ।
नयाँ एसयूभीमा आधुनिक फिचर प्रसस्तै पाउन सकिनेछ । स्मार्टफोन कनेक्टीभीटी सहितको फ्लोटिङ टचस्कृन डिस्प्ले, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, सनरुफ, भेन्टीलेटेड सिट रहनेछ ।

सुरक्षाका लागि यो एसयूभीमा इएससी, इबीडी सहितको एबीएस, कलुजन मिटिगेसन तथा एडास जस्ता फिचर पाउन सकिने छ । स्कोडाले यसलाई भारतमा उत्पादन गरेपनि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने जनाएको छ ।


Back_to_top