निसान म्याग्नाइटको क्र्यास टेष्टमा राम्रो प्रदर्शन, दुई हप्तापछि नेपाल आउने

काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले आगामी फेब्रुअरी पहिलो साता नेपाल ल्याउन लागेको निसान म्याग्नाइटले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ ।

ग्लोवल एनक्यापले जारी गरेको टेष्ट रिपोर्ट अनुसार भारतमा उत्पादन भएर इन्डोनेशिया निर्यात गर्न लागेको निसान म्याग्नाइटको प्रिमियम भेरियन्टको क्र्यास टेष्ट गरिएको थियो । ६४ किलोमिटर प्रतिघन्टाको स्पीडमा म्याग्नाइटलाई क्र्यास गराउँदा त्यसमा बस्ने चालक र यात्रुको टाउको, थाई, घुँडा र पैताला सुरक्षीत हुने पाइएको थियो ।

समग्रमा ७०.६० अंक प्राप्त गरेको म्याग्नाइट चाइल्ड सेफ्टीको लागि पनि राम्रो रहेको ग्लोवल एनक्यापको रिपोर्टले देखाएको छ । म्याग्नाइटमा अगाडि दुई एयरव्याग, आइएसओ फिक्स चाइल्ड सिट, एबीएस, इबीडी जस्ता सुरक्षा फिचर उपलब्ध रहेको छ ।

चार मिटरभन्दा केहि छोटो यस एसयूभीले भारतमा निकै राम्रो बुकिङ पाएको छ । कम्पनीले जनाए अनुसार अहिलेसम्म ३३ हजारभन्दा बढी बुकिङ रहेको छ । १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध म्याग्नाइट भारतमा विक्री हुने सब फोर मिटर एसयूभी सेग्मेन्टमा सबैभन्दा सस्तो एसयूभी हो ।

नेपालमा करिब ३० लाख सुरुवाती मूल्यबाट विक्री सुरु हुने अनुमान गरिएको म्याग्नाइटको बुकिङ केहि दिन भित्रै खुल्ने कम्पनी स्रोतले जनाएको छ ।


Back_to_top