निसान एक्स-ट्रायल: २० वर्षमा सधैं फरक प्लेटफर्ममा उत्पादन

काठमाडौं । सन् २००० मा निसान मोटर्सले आफ्नो पहिलो क्रसओभर एसयूभी एक्स-ट्रायलको विकास गरेको हो । एक्स-ट्रायललाई निसानले आफ्नो अर्को जापानी प्रतिस्पर्धी टोयोटा र्याभफोरको सफलतापछि बजारमा ल्याएको थियो ।

विगत २१ वर्षमा निसानले एक्स-ट्रायलको चार जेनेरेशन बजारमा ल्याइसकेको छ । फ्रन्ट ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने एक्स-ट्रायल नेपालमा राम्रै संख्यामा विक्री भएको एसयूभी हो ।

तर, सन् २०१७ मा भारतमा उत्पादन भएका टेरानो र त्यसपछि आएको किक्सको कारण एक्स-ट्रायल नेपालमा राम्रो संख्यामा विक्री हुन सकेको छैन । नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पको प्राथमिकतामा इन्डियन उत्पादन बढी परेको कारण एक्स-ट्रायलले राम्रो व्यापार गर्न सकिरहेको छैन ।

पहिलो जेनेरेशन

निसानको ‘एफएफएस प्लेटफर्म’मा आधारित रहेर तयार भएको निसान एक्स-ट्रायल सन् २००१ मा बजारमा आएको हो । पहिलो पटक आएको एक्स-ट्रायलमा २.० लिटर र २.५ लिटर क्षमताका दुई पेट्रोल इन्जिन र २.२ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल इन्जिन दिएको थियो ।

एक्स-ट्रायलको पहिलो जेनेरेशन मोडलले यूरोपियन एनक्याप क्र्यास टेस्टमा फोर स्टार सेफ्टी रेटिङ पाएको थियो । पहिलो जेनेरेशन एक्स-ट्रायलमा पावर विण्डो, इलेक्ट्रीक ओआरभीएम, सीडी प्लेयर, चारवटा एयरब्याग, क्लाइमेट कन्ट्रोल, रिमोट सेन्ट्रल लक, इलेक्ट्रीक सनरूफ जस्ता फिचरहरू रहेको थियो ।

दोस्रो जेनेरेशन

निसानले एक्स-ट्रायलको सेकेन्ड जेनेरेशन सन् २००७ मा जेनेभा मोटर शोमा पहिलो पटक देखाएको हो । पहिलो जेनेरेशनभन्दा केही ठूलो साइजको एक्स-ट्रायल रेनो निसानको ‘सी प्लेटफर्म’मा बनेकोे थियो ।

सेकेन्ड जेनेरेशनमा आइपुग्दा फोर स्पीड अटोमेटीक गियरबक्सको सट्टा सीभीटी गियरबक्स दिइएको थियो । बक्सी डिजाइन र ठूलो साइजको कारण यसलाई धेरै मानिसले मन पराएका थिए । यसको ड्यासबोर्ड पनि परिवर्तन आएको थियो ।

तेस्रो जेनेरेशन

निसानले सन् २०१३ मा तेस्रो जेनेरेशन एक्स-ट्रायल सार्वजनिक गरेको हो । नयाँ ‘सीएमएफ सीडी प्लेटफर्म’मा बनेको एक्स-ट्रायल अमेरिकी बजारमा विक्री भइरहेको निसान कै रगको सक्सेसर मोडलको रूपमा लन्च भएको थियो । यो जेनेरेशनबाट एक्स-ट्रायलको बक्सी डिजाइनलाई हटाएर हाइक्रस डिजाइनमा ल्याएको थियो ।

यो जेनेरेशनलाई क्रोमसहितको नयाँ ग्रिल, एलइडी डीआरएल युक्त हेडलाइट, सेन्टर कन्सोलमा इन्फोटेन्मेन्ट सिस्टम र स्टेरिङ माउण्टेड कन्ट्रोल बटम दिइएको थियो । साथै, तेस्रो जेनेरेशनमा एक्स-ट्रायल ७ सिट अप्सनमा पनि उपलब्ध रहेको थियो ।

चौथो जेनेरेशन

निसानले चौथो जेनेरेशन एक्स-ट्रायल सन् २०२१ को सांघाई अटो शोमा सार्वजनिक गरेको थियो । यो मोडल अहिलेसम्म नेपाल आएको छैन । अगाडि भीसेपको बम्पर रहेको यो एसयूभी निकै आकर्षक देखिएको छ ।

निसानले नयाँ एक्स-ट्रायललाई पहिलो पटक हाइब्रिड इन्जिनमा पनि उपलब्ध गराएको छ । ५ र ७ सिट क्षमतामा नै आएको एक्स-ट्रायलमा ठूलो साइजको डिजिटल इन्फोटेन्टमेन्ट क्लस्टर, थुप्रै कनेक्टिभिटी र सुरक्षा फिचर दिएर यसलाई निसानले बजारमा ल्याएको छ ।


Back_to_top