लगातार दुई दिनमा कम मूल्यका २ कारको विक्री सुरु

काठमाडौं । यही हप्ता बजारमा दुई नयाँ मोडलका कारको विक्री सुरु भएको छ । मारुती सुजुकी र टाटाले आफ्नो बजेट कारको विक्री सुरु गरेका हुन् ।

टाटाले सोमबारबाट विक्री सुरु गरेको टिगोर इभी र मंगलबारबाट मारुती सुजुकीले विक्री सुरु गरेको सेलेरियो दुबै कार मूल्यका हिसावले २७ लाखदेखि ३३ लाखसम्ममा किन्न पाइने मोडल हुन् ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विक्री सुरु गरेको टिगोर विभिन्न तीन भेरियन्ट एक्सइ, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा उपलब्ध रहेको छ । त्यसैगरी सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले पनि विभिन्न तीन भेरियन्टमा सेलेरियो बजारमा ल्याएको छ । कम्पनीले भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टमा सेलेरियो विक्री सुरु गरेको हो ।

टिगोर करिब २०० किलोमिटर हाराहारी रेन्ज, २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कार हो । कम्पनीले यसको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।

मारुती सुजुकी सेलेरियो पनि निकै किफायती मोडलमा गनिन्छ । कम्पनीले २६ किलोमिटर प्रतिलिटरसम्मको माइलेज भनेपनि करिब १६ देखि १७ किलोमिटरसम्म सहजै माइलेज पाउन अवस्था रहेको छ । कम्पनीले यसमा १.० लिटर ड्यूल जेट इन्जिन दिएको छ । यसले ६७ पीएस पावर प्रदान गर्नेछ । कम्पनीले पारिवारीक कारको रुपमा बजारमा ल्याएको सेलेरियो ह्याचव्याक कार हो ।

त्यसैले, यी दुबै कारको मुख्य आकर्षण भनेको कम बजेटमा प्रतिकिलोमिटर यात्रा गर्न पाउनु हो ।

सिप्रदी ट्रेडिङले टिगोर इभी एक्सईको मूल्य २९ लाख ९९ हजार, एक्सएमको ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।

सुजुकीले सेलेरियो भीएक्सआईको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआईको ३१ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेको हो ।


Back_to_top