बजारमा पाइने दुई उत्कृष्ट इलेक्ट्रीक स्कुटर, यस्ता छन् भिन्नता (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड सार्वजनिक भइरहेका छन् । हाल नेपालमा ३ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् ।

बजारमा धेरै ब्रान्डको उपस्थिति भएता पनि सबैले ग्राहक तान्न सकेका छैनन् । ग्राहकले ईभी छान्दा रेन्ज र मूल्यलाई आधार बनाएर किन्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट छन् ।

अहिले नेपाली बजारमा विक्री भइरहेको इलेक्ट्रीक स्कुटरमा एनआइयू गोभा जी ५ र याडिया सी १ एस स्कुटर बीच प्रतिस्पर्धा रहेको छ । त्यसैले यी दुई मध्ये कुनै एक स्कुटर किन्न चाहनेलाई सजिलो होस् भनेर हामीले यी दुई बीच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

मोटर र पावर

याडिया सी १ एसमा १.८ किलोवाटको मोटर रहेको छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ६० भोल्ट ३२ एम्पियरको रिमुभएवल लिथिएम आयोन ब्याट्री दिइएको छ ।

एनआइयू गोभा जी ५ मा ३.९ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यसको टप स्पीड ८५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा ७२ भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्री उपलब्ध छ ।

रेन्ज र चार्जिङ समय

याडिया सी १ एसमा रहेको ६० भोल्ट ३२ एम्पियरको लिथिएम आयोन ब्याट्रीलाई एक पटक फुलचार्ज गरेर ८० किलोमिटरसम्म चलाउन सकिन्छ । यसलाई एक पटक फुलचार्ज गर्न चारदेखि पाँच घन्टा समय लाग्छ ।

त्यस्तै एनआइयू गोभा जी ५ मा रहेको ७२ भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्रीलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ भने एक पटक फुलचार्ज गरेर यसलाई पनि १०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

फिचर

यी दुबै स्कुटरमा सबै लाइटहरू एलईडी दिइएको छ भने यसमा डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, राइड मोड, हाजार्ड लाइट, स्टोरेज क्षमता, यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

मूल्य

इको इन्फिनिटीले विक्री गर्ने एनआइयू गोभा जी ५ को मूल्य मूल्य ३ लाख ६४ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कुजु नेपालले विक्री गर्ने याडिया सी १ एसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top