काठमाडौं । ‘आज नगद, भोलि उधारो’ नेपालमा निकै चर्चित भनाइ छ । विशेषगरी बस्तुको खुद्रा बिक्री गर्ने पसलहरुले यस्तो भनाई प्रिन्ट नै गरेर राख्ने गर्छन् ।
विश्वमा कारको ब्यापारमा एक हजार यूनिट कारको पैसा देशले नै नतिरेको अचम्मको घटना कमैले सुन्नु भएको होला । यो घटनालाई अटोमोवाइल इतिहासकै सबैभन्दा ठूलो ‘स्क्याम’ भन्निछ ।
सन् १९७० को दशकमा भएको कार काण्डको साइनो स्विडेन र उत्तर कोरियासँग जोडिएको हो । स्विडेनको मुख्य कार निर्माता कम्पनी भोल्भोसँग उत्तर कोरिया सरकारले किनेको १ हजार कारको पैसा अहिलेसम्म उत्तर कोरियाले तिरेको छैन । कार र अन्य मेशिनरी सामान समेत भोल्भोसँग ७३ मिलियन डलरमा उत्तर कोरियाले खरिद गरेको थियो ।
सुन्दा अचम्म लाग्ने यो कुरा वास्तबिक हो । त्यतिबेला उत्तर कोरिया निकै राम्रो अर्थब्यवस्था भएको देश थियो । ठ्याक्कै ५० वर्ष अगाडि खरिद गरेको गाडी अहिले पनि गुडिरहेका ‘१४४ मोडल’ कार अहिले पनि उत्तर कोरियामा ट्याक्सीको रुपमा गुडिरहेको देख्न सकिन्छ । बेलाबखत उक्त कारको फोटो सोसल मिडियामा भाइरल भइरहन्छ ।
भोल्भोका अनुसार सन् १९७४ मा कार खरिद गर्ने सम्झौता पत्रमा उत्तर कोरियाको डेमोक्रेटीक पिपुल्स रिपब्लिक अफ कोरिया (डिपिआरके) पार्टीका लिडर अहिलेका राष्ट्रपति किम जोंग उनका हजुरबुबा किम इल सुङ्गले हस्ताक्षर गरेका थिए ।
त्यस समयमा उत्तर कोरिया सरकारको नेतृत्व नै किम इल सुङ्गलेनै गरेका थिए । भोल्भोलाई गाडी किन्ने अर्डर उनैले दिएका थिए ।
स्वीडेनको एक्सपोर्ट क्रेडिट एजेन्सीले अघिल्लो बर्ष सार्बजनिक गरेको रिपोर्टका अनुसार १ हजार भोल्भो कारको ब्याज र अनपेड पेनाल्टी रकम गरी करिब ३२२ मिलियन डलर उत्तर कोरियाले तिर्नु पर्ने पुगेको जनाएको छ ।
अटोमोबाइल क्षेत्रमा भएको यो अहिलेसम्मकै अनौठो घटना हो । उत्तर कोरियाले भने अहिलेसम्म यस बिषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।


