काठमाडौं । ट्राफिक प्रहरीले सचेतना कक्ष थपेको छ । यसअघि दैनिक ५ वटा कक्षा संचालन हुँदै आएकोमा आजदेखि ७ वटा ट्राफिक सचेतना कक्षा संचालन हुने भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आजदेखि काठमाडौंको रामशाहपथमा दैनिक ७ वटा कक्षाहरू संचालन हुनेछन् ।
सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म ७ वटा कक्ष संचालन हुने भएको हो ।
कार्यालयको सूचना अनुसार बिहान ९ देखि १० बजे, १० देखि ११ बजे, ११ देखि १२ बजे, १२ देखि १ बजे, १ देखि २ बजे, २ देखि ३ बजे र ३ देखि ४ बजेसम्म सचेतान कक्षा संचालन हुनेछ । शुक्रबार भने दिउँसो ३ बजेसम्म मात्र सचेतना कक्षा संचालन हुनेछ ।
कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सहजताको लागि अन्य सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शनिबार १० बजेदेखि १२ बजेसम्म दुई वटा कक्षाको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । चालकहरूले आफूलाई पायक पर्ने समयमा गएर कक्षा लिनसक्ने छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण ट्राफिक प्रहरीको कार्यालयहरूमा आगजनी हुँदा झण्डै डेढ महिना सचेतना कक्षा रोकिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ११ गतेदेखि पुनः सचेतना कक्षा सुरू गरेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति तथा सडक लेन उल्लंघन गरी कारबाहीमा परेका चालकहरूलाई ट्राफिक सचेतना कक्षा दिइन्छ ।
उपत्यकामा हाल काठमाडौंको रामशाहपथमा मात्रै कक्षा संचालन हुने व्यवस्था गरिएको छ । भक्तपुर र ललितपुरमा भने आन्दोलनमा जलाइएका पूर्वाधार तयार भइनसकेको कक्षा सुरू हुन सकेको छैन । हाल पूर्वाधार निर्माणको काम भइरहेकाले चाँडै सुरू गरिने जनाइएको छ ।



