काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा अब यात्रुले निःशुल्क इन्टरनेट चलाउन पाउने भएका छन् ।
बुधबार संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका हुन् ।
मन्त्री खरेलले पदभार ग्रहण गर्दा काठमाडौं उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए ।
उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको उनले बताए ।
यसैगरी, उनले ठूलोभर्याङस्थित यातयात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको बताए ।
सञ्चारमन्त्री खरेलको अग्रसरतासँगै अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रुपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिंक र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।

