काठमाडौं । भारतीय ट्याक्सी यातायातमा छलाङ मारेको ओलाले अब विद्युतीय ट्याक्सी प्रयोगमा ल्याउने भएको छ ।
ओला ट्याक्सीक्याव सन् २०१० देखि संचालनमा आएको हो । ओला इन्डियन ओरिजिन भएको अनलाइन ट्रान्सपोटेसन नेटवर्क कम्पनी हो । एएनआइ टेक्लोलोजीले ओला क्याव संचालनमा ल्याएको हो । उक्त कम्पनी मुम्बई बेसमा स्थापना भएपनि हाल ओलाको केन्द्रीय कार्यालय बैङलोरमा रहेको छ ।
ओलाले २०१९ सम्ममा १० हजार विद्युतीय ट्याक्सी सडकमा उतार्ने लक्ष्य लिएको छ । कम्पनीले सोमबार ‘मिसन इलेक्ट्रिक’ योजना सार्वजनिक गर्दै अबको १२ महिनामा इरिक्सा, इलेक्ट्रिक अटो रिक्सा सहित १० हजार विद्युतीय सवारी पुर्याउने लक्ष्य सार्वजनिक गरेको हो । मिसन इलेक्ट्रिक अन्तर्गत ओलाले २०२१ भित्र सडकमा १० लाख विद्युतीय सवारी उतार्नै महत्वकांक्षी योजना अगाडि ल्याएको छ ।
ओलाले आफ्नो पहिलो विद्युतीय सवारी परियोजना २०१७ को मे २६ मा भारतको नागपूरमा सार्वजनिक गरेको थियो ।
ओलाको परियोजना सफल भए उक्त कम्पनी विश्वकै ठूलो विद्युतीय सवारी संचालन कम्पनी हुने छ । २०१० मा स्थापना भएको कम्पनीको ब्रान्ड भ्यालू २०१५ को सेप्टेम्बरमा आइपुग्दा ५ अर्ब अमेरिकी डलर भएको थियो भने २०१७ को मध्यमा आइपुग्दा ब्रान्ड भ्यालु घटेर ३ बिलियनमा आइपुगेको छ ।
ओला क्याव ३ डिसेम्बर २०१० मा भाविश अग्रवाल र अंकित भातीले स्थापना गरेका हुन् भने अग्रवाल अहिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका छन् । २०१७ सम्ममा ओलाले ६ लाख ट्याक्सीमार्फत १ सय १० सहरमा सेवा प्रवाह गरिरहेको छ ।

