काठमाडौं । सुरक्षा फिचरले भरिपूर्ण ओमोडा ई-५ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यसमा ३५ भन्दा बढी सुरक्षा फिचर भएको जानकारी दिएको हो ।
काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरेर कम्पनीले ओमोडा ई-५ सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा एसपीजी अटोमोवाइलका भाइस प्रसिडेन्ट धिरेन तामाङ्गले गाडी सुरक्षाको हिसावले उत्कृष्ट रहेको दावी गरेका थिए ।

ओमोडाले ई-५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग दिएको छ । साथै, एडास फिचर भित्र पर्ने १७ फिचर पनि ग्राहकले यसमा पाउने छन् । ई-५ मा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर दिएको छ ।
कम्पनीले यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरेको कारण किन्ने ग्राहकले कम्तीमा ११ लाख ८९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

कति पर्छ मासिक किस्ता
यदि २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ओमोडा ई-५ किन्ने हो भने ११ लाख ८९ हजार ९०० रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकम ४७ लाख ५९ हजार २०० रुपैयाँ बैंकबाट कर्जा लिनु पर्छ ।

अहिले बैंकले १० प्रतिशत हाराहारीमा नै विद्युतीय कारको लागि कर्जा उपलब्ध गराएका छन् । यस्तो कर्जा ७ वर्ष भित्र तिर्नेगरी लिँदा मासिक ७९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
रेन्ज र ग्राउन्ड क्लियरेन्स राम्रो
ई-५ मा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जगर्दा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

गाडीमा ९९ किलोवाटको मोटर दिइएको छ । ई-५ को लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ । त्यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स निकै राम्रो देखिएको छ ।

