काठमाडौं । ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले सन् २०२५ मा चार नयाँ मोडल नेपाल ल्याउने योजना बनाएको छ । कम्पनीले ओमोडा र जेको दुवै ब्राण्ड नेममा २/२ वटा मोडल ल्याउन लागेको हो ।
ओमोडा ब्राण्ड अहिले बिक्री हुँदै आएको ई-५ भन्दा सानो साइजको एसयूभी सी-३ (अहिलेको प्रास्तावित नाम) आउने छ । साथै, ओमोडा सी-७ पनि सन् २०२५ मा नै नेपाल आउने अनुमान गर्न सकिन्छ ।
जेको ब्राण्डमा जेको भी-२३ र जेको जे-५ मोडल आउने छ । यी दुवै मोडल नेपाल आउने घोषणा नै भइसकेको छ । समग्रमा सन् २०२५ मा ओमोडा/जेको ब्राण्डमा चार नयाँ प्रोडक्ट आउने छन् ।
मूल्यका हिसाबले ४५ लाखदेखि ७० लाख रुपैयाँसम्ममा आउने अनुमान गरिएका यी नयाँ मोडलले नेपाली बजारमा कस्तो प्रभाव पार्न सक्छ, त्यो हेर्न भने कुर्नु पर्ने हुन्छ ।
चेरी ग्रुप अन्तर्गतका अन्य ब्राण्ड पनि नेपाल ल्याउने तयारीमा कम्पनीहरू जुटेका छन् । जसमा क्यूक्यू ब्राण्ड पनि एक हुनसक्छ । एसपीजी अटोमोबाइल ग्रुपका निर्देशक गौरव सारडा भन्छन्, ‘हामी सन् २०२६ लागेपछि चेरीको थप ब्राण्ड ल्याउने तयारीमा छौं ।’
अहिले बिक्री हुँदै छन् दुई मोडल
ओमोडा/जेको ब्राण्डमा अहिले दुई मोडल उपलब्ध छन् । ओमोडा ई-५ र जेको जे-६ ले नेपाल आएको एक वर्षमै बजारबाट राम्रो प्रतिक्रिया पाएका छन् ।
ओमोडा ई-५ विभिन्न दुई भेरियन्टमा उपलब्ध छ । जेको जे-६ भने अहिले एउटा मात्रै भेरियन्टमा किन्न पाइन्छ । चाँडै कम्पनीले जे-६ को फोर ह्वील ड्राइभ भेरियन्ट पनि बिक्री सुरू गर्ने तयारी गरेको छ ।
ओमोडा ई-५ डिलक्स भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ र लग्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ मात्रै रहेका छन् । लग्जरीको ड्यूल टोन भेरियन्टको मूल्य ६२ लाख ४९ हजार रुपैयाँ छ ।
कम्पनीले जेको जे-६ मोडल एउटा मात्रै भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

