अन टेष्ट लेखिएका बाइक चलाउँदै हुनुहुन्छ, कारवाहीमा पर्ने निश्चित

काठमाडौं । ट्राफिक प्रहरीले शोरुमबाट निकालिएका नयाँ मोटरसाइकललाई नम्बर प्लेट नराखेको भन्दै कारबाही सुरु गरेको छ । नम्बर प्लेट नभएका नयाँ सवारीलाई ट्राफिक प्रहरीले कारबाही थालेको हो । 

ट्राफिक प्रहरीले अन टेस्ट लेखिएका र सामान्य साइन पेनले नम्बर लेखिएका मोटरसाइकललाई कारबाही गरेको हो । यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी साधन ऐनले व्यवस्था गरेअनुरुप नम्बर नराखि सडकमा गुडाउन पाइदैन । 

‘ऐनमा व्यवस्था भएबमोजिम शोरुमबाट नम्बर प्लेट लेखाउने स्थान वा घर लान पाईन्छ, तर नियमितरुपमा नम्बर प्लेट नलगाई सडकमा सवारी चलाउन पाईदैन’, ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले भने । 

‘विगतमा पनि ट्राफिक प्रहरीले सचेत गराउँदै आएको हो, दुर्घटना नहोस् भनेर पछिल्लो समय नम्बर प्लेट नभएका सवारीलाई रोक्न अभियान नै चलाएका हौं’ उनले मेरोअटोसँग भने । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार मात्रै अन टेस्ट नम्बर प्लेट राखेर सवारी चलाउने ३४ जनालाई कारबाही गरिएको छ । 

यसअघि भने ट्राफिक प्रहरीले अन टेस्ट लेखिएका र सामान्य साइन पेनले लेखिएका नम्बर प्लेट भएका सवारीलाई खासै कारबाही गर्ने गरेको थिएन । भन्सारबाट ल्याउँदा भने अस्थाई नम्बर प्लेटले शोरुमसम्म मात्र लान पाइने व्यवस्था रहेको छ । 

ट्राफिक नियमअनुसार अन टेस्ट नम्बर प्रयोग गरेर यति उति किलोमिटर गुडाउन पाइने भन्ने व्यवस्था छैन । अस्थायी नै भएपनि नम्बर रातो प्लेटमा लेखेर मात्र चलाउन पाइने र स्थायी नम्बर प्लेट आएपछि त्यसलाई परिवर्तन गर्नुपर्ने प्रहरीको भनाई छ । 

पछिल्लो समय शोरुमबाट नयाँ सवारी लिएपछि नम्बर नआउँदासम्म अन टेस्ट नम्बर प्लेट राखेर सवारी चलाउनेको संख्या निकै बढेको थियो । अन टेस्ट नम्बर प्लेट राखेको अवस्थामा दुर्घटना भएमा दोषी पत्ता लगाउन गाह्रो हुने भएकाले बिलबुक आउने अवधिसम्मलाई रातो नम्बर प्लेटमै अस्थायी नम्बर राखेर सवारी उपलब्ध गराउन सवारी बिक्रेतालाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।


Back_to_top